
दीननाथ बराल,
पोखरा १६, वैशाख,
सम्भवत सोमबारदेखि पोखरामा नियमित समय तालिका अनुसारकै हवाई उडान हुने भएको छ । केही दिन देखि पोखराको हवाई उडान प्रभावित हुदै आएको सन्र्दभमा अब भने सोमबार देखि नियमित स्याडुलमै हवाई उडान हुने भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
आज (आइतबार) दिउँसो देखि पोखराको हवाई उडान पुनः संचालनमा आएको छ । पर्यटनको राजधानि पोखराको शनिबार करिब ३५ वटा हवाई उडान प्रभावित भए पनि आइतबार भने दिउँसो १ः०० बजे पछि भिजिबिलिटी पुगेसंगै हवाई उडान सुरु भएको विभिन्न एयरलायन्स कम्पनीहरुले पोखराक्लिकलाई जनाएका छन्।
बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा (प्रतिकूल मौसमका कारण) पोखराबाट हुने सम्पूर्ण उडानहरु शनिबार प्रभावित भएको थियो भने आइतबार दिउँसो १ः०० बजेसम्मका सबै उडानहरु रद्ध गरिएको कम्पनीले जनाएका छन्। आइतबार पोखरा काठमाण्डौं तर्फ ८ वटा मात्र हवाई उडान भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अन्य दिनमा प्रायः दैनिक ३५ वटा हवाई उडान हुने गर्दछ । भैरहवा पोखरा, भरतपुर पोखरा, पोखरा नेपालगन्जका सबै जसो उडानहरु हिजो र आज पूर्ण रुपमा प्रभावित भएका हुन् ।
आइतबार मात्र बुद्ध एयरको २१ वटा हवाई उडान हुनु पर्नेमा ४ वटा, यति एयरलायन्सको १० मध्य ३ वटा मात्र हवाई उडान भएको र श्री एयरलायन्सको भने ३ मध्य एउटा मात्र हवाई उडान भएको छ । आइतबार ३४ वटा हवाई उडानहरु मध्य २६ वटा हवाई उडान प्रभावित भएको कम्पनीले दाबी गरेका छन् । आइतबार पोखराको आकाशको ५ हजार भिजिविलिटि पुगेको बुद्ध एयर कम्पनी पोखरा कार्यालयका स्टेशन म्यानेजर गौतम बरालले बताउनु भयो । उहाँका अनुसार शनिबार बुद्ध एयरका २१ वटा हवाई उडान रद्ध भएकोले आइतबार बिहानै देखि हवाई उडान हुन नसके पनि अधिकांश पर्यटकहरु सडक मर्ग हुदै आफ्नो गन्तव्यमा लागेकोले न्यून यात्रुको बाबजुत पनि आइतबार ४ वटा हवाई उडान पोखरा काठमाण्डौं भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न कम्तीमा ३५ सय देखि ३८ सय मिटरको भिजिविलिटी आवश्यक पर्छ भने शनिबार र आइतबार विहानसम्म पोखराको भिजिविलिटी २ हजार मिटर भन्दा कम रहेकोे स्टेशन म्यानेजर गौतमले बताउनु भयो । विहिबार बेलुका २ वटा हवाई उडान काठमाण्डौंबाट पोखरा गरेको बुद्ध एयरले शुक्रबार बिहान काठमाण्डौं पोखरा २ उडान गरेको थियो ।
त्यसै गरी यति एयरलायन्सको पनि आइतबारको हवाई उडानमा केही प्रभाप परेको यति एयरलायन्सका राम लामिछानेले बताउनु भयो । उहाँका अनुशार शनिबार ११ वटा उडान रद्ध भएको थियो भने आइतबार १० मध्य ३ वटा मात्र हवाई उडान भएको छ । सोमबारबाट नियमित रुपमा उडान हुने उहाँले जनाउनु भयो । श्री एयरलायन्सका अनिल मानन्धरले प्रतिकुल मौसमका कारण धेरै यात्रु एवं पर्यटकहरु सडक मार्ग हुदै आफ्नो गन्तव्यमा लाग्दा दिउसोबाट हवाई उडानको लागि जिभिविलिटि पुगे पनि यात्रु एवं पर्यटकहरुको सङख्या कम भएको जनाउनु भयो । उहाँले सोमबारबाट भने यात्रु एवं पर्यटकहरुको सङख्यामा बृद्धि हुने विश्वास व्यक्त गर्नु भयो ।
पोखरा र काठमाडौँ उपत्यकाको आकाशमा केही दिन देखि बाक्लो तुवाँलो लागि रहेको छ । धेरै ठाउँमा आगलागी हुनुले आकाशमा धुलोको कर्णहरु फैलिएको छ । यसको लागि आकाशबाट पानी पर्नुपर्ने वा हावा चल्नु पर्ने मौसमविदहरुले बताउदै आउनु भएको छ । चैत वैशाखमा विभिन्न खेत वारीमा तथा पाखामा आगो बढेलो लगाउने गर्दा सावधानि अपनाउन नसक्दा वन जंगलमा समेत ठुलो क्षती हुने गरेको छ ।







