एसिया कपमा इजिप्टका इस्माइल र महिला तर्फ इजरायलकी इडालाई उपाधि, राष्ट्रिय तर्फ विपिन र पुष्पाले जित्नु भयो

-


     पोखरा क्लिक     
     वैशाख १५ गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
पोखरा १५, वैशाख,

इजिप्टका सिफेल्डिन इस्माइल र महिलातर्फ इजरायलकी इडा हेनसदोतिरले पोखरामा शनिबार सम्पन्न भएको ७ औं संस्करणको एसिया कप ट्रायथलन प्रतियोगिताको उपाधि जित्नु भएको छ । पोखराको फेवातालमा भएको ७ सय ५० मिटर पौडी, लेकसाइडको गौरीघाट देखि पार्दीसम्म भएको २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड को निर्धारित दुरी इस्माइलले ५६ मिनेट ४५ सेकेण्डमा पार गर्दै उपाधि जित्न सफल हुनु भएको हो ।


त्यसै गरी निर्धारित दुरी ५७ मिनेट २० सेकेण्डमा पार गर्दै अष्ट्रेलियाका ब्रुकलिन हेनरी दोश्रो र हेनरी भन्दा १० सेकेण्डले पछि पर्नु भएकोे जापानका मित्सुहो मोचीजुकी तेश्रो हुनु भयो । प्रतियोगितामा अस्ट्रेलियाका निक फ्रिसबी चौथो र जापानका युया कोवायासी पाचौं स्थानमा आउन सफल हुनु भयो । त्यसै गरी महिला तर्फको एसिया कप ट्रायथलनमा इजरायलकी इडा इडा हेनसदोतिरले १ घन्टा ६ सेकेण्डमा दुरी पार गरी उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनु भयो । गाम्बियाकी मावमी लिजामाले १ घन्टा ४२ सेकेण्डमा दुरी पार गर्दै दोश्रो र उक्त दुरी १ घन्टा ४ मिनेट १८ सेकेण्डको समय पार गर्दै उज्बेकिस्तानकी एलिना खाकीमोभा तेस्रो हुनु भयो । प्रतियोगितामा इन्डोनेशियाकी मार्टिना चौथो जापानकी इकुमी सेटो पाचौं स्थानमा आउन सफल हुनु भयो ।

नेपाल ट्रायथलन संघको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको उक्त प्रतियोगिता अन्र्तगत दशौं सस्करणको साउथ एसिया ट्रायथलन च्याम्पियनसिपमा पुरुषतर्फ भारतका आदर्श मुरलीधरनले उपाधि जित्नु भएको छ । उहाँले १ घन्टा २ मिनेट ३ सेकेण्डमा उक्त दुरी पार गर्नु भएको हो । उक्त दुरी १ घण्टा ३ मिनेट २६ सेकेण्डमा पार गर्दै भारतकै कौशिक विनय दोस्रो हुनु भयो । प्रतियोगितामा नेपालका विपिन कटुवाल तेस्रो तथा प्रविन थारु पाचौं हुनु भएको छ ।


त्यसैगरी महिलातर्फ भारतकी मानसी मोहितीले उपाधि हात पार्न सफल हुनु भयो । उहाँले निर्धारित दुरी १ घन्टा ७ मिनेट ५१ सेकेण्डमा पार गर्नु भएको हो । नेपालकी श्रेवी मर्हजनले निर्धारित दुरी १ घन्टा ११ मिनेट ४५ सेकेण्डमा पार गर्दै दोश्रो हुनु भयो । १ घन्टा २१ मिनेट १३ सेकेण्डमा उक्त दुरी पार गर्दै नेपालकै शोभा बलामी तेश्रो हुनु भयो । एसियाकप ट्रायथलन अन्तर्गत पुरुषतर्फ ३८ र महिलातर्फ २४ खेलाडीहरुको सहभागिता रहेको नेपाल ट्रायथलन संघ गण्डकी प्रदेशका अध्यक्ष एवं व्यबस्थापन कमिटि पोखराका संयोजक डिल्लीराज सुवेदी (शिशिर) ले बताउनु भयो । प्रतियोगितामा नेपाल सहित १५ देशका अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, गाम्विया, प्लेस्टाइन, उरुग्ये, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, वंगालादेश, उज्बेकिस्तान लगायतका देशका खेलाडीले सहभागि हुनु भएको थियो ।

त्यस्तै, उक्त प्रतियोगिताको सन्र्दभमा शनिबार भएको राष्ट्रिय ट्रायथलनमा विपिन कटुवाल प्रथम हुनु भएको छ । उहाँले १ घन्टा ५ मिनेट २५ सेकेण्डमा दुरी पार गर्नु भएको हो । उक्त दुरी १ घन्टा ६ मिनेट २० सेकेण्डमा पार गर्दै प्रविन थारु दोश्रो र १ घण्टा ७ मिनेट ४८ सेकेण्ड मा पार गर्दै मुकेश थारु तेश्रो हुनु भयो । प्रतियोगितामा योजु मर्हजन भने चौथो हुनु भयो । यसै गरी महिलातर्फ श्रेवी महर्जनले उपाधि जित्नु भयो । उहाँले १ घन्टा ११ मिनेट ४५ सेकेण्डमा उक्त दुरी पार गर्नु भएको हो । उक्त दुरी १ घण्टा २१ मिनेट १३ सेकेण्डमा पार गर्दै शोभा बलामी दोस्रो हुनु भयो । उक्त दुरी १ घण्टा २१ मिनेट ५७ सकेण्डमा पार गर्दै ज्ञानु कुमारी चौधरी तेश्रो हुनु भयो ।


प्रतियोगितामा बिजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष एवं गण्डकी प्रदेशका पूर्व सांसद दिपक कोइराला, उपाध्यक्ष सुमन देवकोटा, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

यस अघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री खगराज अधिकारीले गर्नु भएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, वर्ल्ड ट्रायथलन संघकी अध्यक्ष मारिसोल कासाडो, महासचिव एन्टोनियो आरामानी लगायतको सहभागिता रहेको संघ कास्कीका अध्यक्ष प्रमेश पराजुलीले बताउनु भयो । उक्त प्रतियोगितालाई सफल पार्न राखेप, गण्डकी प्रदेश सरकार, पोखरा महानगपालिका, पोखरा पर्यटन परिषद, होटल संघ पोखरा नेपाल लगायतको सहयोग रहेको छ । यसैबिच, आइतबार द्धवाथलन प्रतियोगिता हुने भएको छ ।



This will close in 20 seconds