
दीननाथ बराल,
पोखरा ८, बैशाख,
कास्कीको ताङतिङमा यही बैशाख १४ गते देखि हिमालय खुल्ला स्क्र्यावल प्रतियोगिता हुने भएको छ । मादी गाउँपालिकाको ताङतिङ स्थित हिमालय मिलन मा.वि.को स्वर्ण महोत्सवको अवसरमा यही बैशाख १४ र १५ गते उक्त प्रतियोगिता हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रमा जानकारी गराइएको हो ।
प्रतियोगितामा मुख्य गरी १४, १६ र १८ बर्ष मुनिका खेलाडीहरु सहभागि खेल सहित खुल्ला उमेर समुहमा गरी चार विधामा प्रतियोगिता हुने भएको स्क्र्यावल क्लवका अध्यक्ष केशव प्रसाद पराजुलीले बताउनु भयो । प्रतियोगितामा १४ चरणमा खेल हुने भएको उहाँले जनाउनु भयो । नेपाली, अग्रेंजी र गणित बिषयका शब्द बनाउन सहयोग पुर्याउने उद्धेश्यले उक्त खेलको कास्की सहित २५ जिल्लामा यस खेलको विस्तार भएको क्लवले दाबी गरेको छ ।
प्रतियोगितामा कास्की सहित, काठमाण्डौं, ललितपुर, चितवन, बारा, मोरङ, नवलपरासी लगायतका करिब ६० जना खेलाडीहरू सहभागि हुने भएको अध्यक्ष पराजुलीले बताउनु भयो । दुई रात तीन दिनको बसाई हुने प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको लागि आयोजकले स्थानिय होटल सहितको आवासियको व्यबस्थाको लागि प्रतिव्यत्ति २ हजार शुल्क संकलन गरीने भएको क्लवका सचिव पूर्ण बहादुर रानाले बताउनु भयो ।
बिद्यालयको स्वर्ण महोत्सवको अवसरमा उक्त खेलको प्रबद्र्धन गर्न पनि सो प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका सल्लाहकार एवं बिद्यालयका प्रध्यानाध्यापक ओमप्रकाश गुरुङले बताउनु भयो । स्वर्ण महोत्सव बिद्यालयले यही वैशाख २८ र २९ गते मनाउने तयारी गरेको उहाँले बताउनु भयो । बिद्यालयमा हाल१६ जना शिक्षक तथा कर्मचारी रहनु भएको छ भने एक सय जना मात्र बिद्यार्थीहरु रहेको बिद्यालयले जनाएको छ ।
स्क्र्यावल खेललाई नेपालीमा कोठेपद भनेर बुझ्न सकिन्छ । आजभन्दा करिव ९० बर्ष अघि नै पश्चिमाहरूले यसलाई सुरू गरेर आज विश्वका १ सय २० भन्दा बढी देशमा ४ हजार बढी क्लवहरूको संयोजनमा २० भन्दा बढी भाषाहरूमा खेलिने स्क्र्यावल नेपालमा २०३० सालतिरै आइपुगेको बताइन्छ । संस्थागत रूपमा यो खेलको सुरूवात गर्ने श्रेय पोखरा सार्वजनिक पुस्तकालय स्थित अमेरिकन कर्नरलाई जान्छ । आजभन्दा करिव १० बर्ष अघि देखि नेपालमा प्रतियोगिताका रूपमा स्क्र्यावल खेल्न र खेलाउन सुरू गरेपछि हाल नेपालका ७७ मध्ये ४० भन्दा बढी जिल्लाहरूमा यो परिचित भैसकेको छ ।



