
दीननाथ बराल,
पोखरा २५, चैत,
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः खगराज अधिकारी नियुक्त हुनु भएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले संसदीय दलका नेता अधिकारीलाई आइतबार पुनः दोश्रो पटक मुख्मन्त्रीमा नियुक्त गर्नु भएको हो ।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । आजै नेता अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८ र एक स्वतन्त्र राजीव गुरुङ(दिपक मनार्ङ) गरी ३१ जनाको समर्थनको पत्र प्रदेश प्रमुखलाई बुझाउदै नयाँ सरकारको दावी पेश गर्नु भएको थियो ।
मुख्यमन्त्री अधिकारीको आजै साढे ३ बजे सपथ हुने तयारी गरिएको प्रदेश प्रमुखका प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिनु भयो । आज नै सानो आकारको मन्त्रीमण्डल समेत विस्तार हुने बताइएको छ । एक स्वतन्त्र सहित २ पार्टीका मन्त्री हुने तयारी गरिएको हो । अल्पमतमा पर्नु भएको सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई यही चैत २७ गते भित्र दाबी पेश गर्न प्रदेश प्रमुख भट्टले आव्हान गर्नु भएको थियो । एमाले, माओबादी केन्द्र र स्वतन्त्रका गुरुङले गरी तीन जनाको आज नै पुनः मन्त्रीमण्डल विस्तार हुने श्रोतको दाबी छ । एमालेका अधिकारी मुख्यन्त्रीमा नियुक्त भएसंगै अब माओबादीबाट मन्त्रीमण्डलमा को जाने भन्ने बिषयमा हाल छलफल भई रहेको माओबादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताउनु भयो ।
गण्डकी प्रदेश सभामा कागेंका २७ सांसद रहनु भएको छ भने यसमा राप्रपाको २ सांसद हुनु हुन्छ ।
केही समय अघि गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गर्नुभएको थियो । अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न आज निवेदन बुझाउनु भएको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले बताउनु भयो ।
गत बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले यही चैत २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिनुभएको थियो । दुई दिन अगावै गठबन्धन दलले मुख्यमन्त्रीमा दाबी पेस गर्नु भएको हो ।
तत्कालीन सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । दुई सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने प्रदेश सरकारलाई समर्थन गर्ने÷नगर्ने विषयमा अझै अन्यौलमा रहेको छ ।
यसैबिच, नेपाली कांग्रेसले असंवैधानिक तरिकाबाट गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई पत्र पठाएको छ। कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आइतबार पत्र पठाउँदै असंवैधानिक तरिकाबाट नेकपा ९एमाले० संसदीय दल नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गर्नु भएको थियो ।
आइतबार नै एमाले र माओवादी सहितले नयाँ मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस गरेसंगै उक्त दाबीमा सांसदका पुरानो हस्ताक्षर प्रयोग गरिएको र सभामुख समेतलाई गणना गरिएकोले यो असंवैधानिक भएको कांग्रेसको दाबी छ । कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पुनस् सांसदहरूको हस्ताक्षर लिन पनि आग्रह गरेको छ।







