फेवा महोत्सवको तयारी अन्तिम चरणमा, रैथाने खाना महोत्सव पनि हुने

-


     पोखरा क्लिक     
     चैत्र २३ गते २०८० मा प्रकाशित


पोखरा, २३ चैत

नेपाली नयाँ बर्षका अवसरमा पोखराको फेवा किनारमा आयोजना हुने १९ औं संस्करणको फेवा नव बर्ष महोत्सवका अवसरमा नेपाली रैथाने खाना महोत्सव समेत समावेश गरिने भएको छ । तीन दिने महोत्सव यही चैत २९ गतेदेखि आगामी बैशाख १ गतेसम्म तीन दिन संचालन हुने छ ।

होटल संघ नेपाल केन्द्रको सहयोग र सेफ एसोसियसन अफ नेपालको सहकार्यमा पोखरा ६ गौरीघाट स्थित होटल ग्लेसियर एण्ड स्पामा गण्डकी प्रदेशस्तरीय खाना महोत्सव आयोजना गर्न लागिएको होटल संघ पोखरा नेपालका महासचिव एवं फेवा महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशमा रहेका विभिन्न रैथाने खानाहरुलाई समावेश गरिने उनले बताए ।

महोत्सवले स्थानीय खानाको अन्तराष्ट्रिय बजारिकरणमा समेत सहयोग पुग्ने महासचिव ढकालको बुझाई छ । फेवा नव बर्ष महोत्सव ड्यामसाइडचोकदेखी खहरेचोकसम्म ३.५ कि.मि. क्षेत्रमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित संचालन हुनेछ ।

होटल संघ पोखरा नेपालले आयोजना गर्ने फेवा नव बर्ष महोत्सवको तयारी समेत अन्तिम चरणमा पुगेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । यसैविच संघले हालै काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी काठमाडौंवासी र अन्य नेपालीलाई समेत महोत्सवमा सहभागिताका लागि निम्ता प्रदान गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै होटल संघ नेपाल केन्द्रका अध्यक्ष विनायक शाहले महोत्सवले पोखराको पर्यटनलाई चलायमान बनाउन सहयोग पु्र्याउने विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा संघ केन्द्रका महासचिव साजन शाक्य, संघका केन्द्रिय सदस्य भरतराज पराजुली, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पनि भनाई राखेका थिए । कार्यक्रमको संचालन होटल संघ पोखरा नेपालका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।



This will close in 20 seconds