उपभोक्तालाई खानेपानीको प्रभावकारी सेवा देऊ ः कार्यालय प्रमुख कार्की

-


     पोखरा क्लिक     
     चैत्र १६ गते २०८० मा प्रकाशित


नेपाल खानेपानी संस्थान पोखराका कार्यालय प्रमुख ई. आशिष कार्कीले खानेपानी संस्थान पोखराले प्रभावकारी सेवा दिइरहेको बताएका छन् । नेपाल खानेपानी संस्थानको ३५ औं वार्षिकोत्सवमा पुरस्कृत कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्दै उपभोक्ताको सेवामा हरतरहले सेवारत रहन आग्रह गरे । कार्यालय प्रमुख कार्कीले सिनियर मिटर रिडर विमल तिम्सिना, हेभी ड्राईभर रुद्रप्रसाद शर्मा, ल्यावब्वाई सिमाना केसी, जुनियर प्लम्बर श्रीकृष्ण बास्तोला, मिटर रिडर सनिज श्रेष्ठ, कार्यालय सहयोगी बलबहादुर थापा, शंकर भूजेल, सुरेश शाही, गोविन्द अधिकारी र समिर शाहीलाई नगद १ हजारसहित प्रमाणपत्रले सम्मान गरेका थिए ।

पोखरा शाखाबाट अवकास भएका कर्मचारी कृष्णप्रसाद पौडेल, शंकरप्रसाद कोइराला र मुकुन्दनाथ विडारीलाई खादा र कदरपत्र प्रदान गर्दै दीर्घ जीवन, क्रियाशील र स्वस्थ शरीरको अपेक्षा गर्दै प्रमाणपत्र प्रदान गरेका थिए । खानेपानी संस्थानले कार्यरत कर्मचारीका उत्कृष्ठ अंक प्राप्त गर्ने छोराछोरी मध्ये कार्यालय सहयोगी पदमा कार्यरत रमेश अधिकारीको छोरी मिना अधिकारीलाई नगद ५ हजारसहित प्रमाणपत्रले सम्मान गरेका थिए । फागुन १५ गते प्रधान कार्यालयबाट घोषणा गरेपछि प्राप्त नगद र प्रमाणपत्रले कर्मचारीहरुलाई पुरस्कृत गरिँदै आएको कार्यक्रम सञ्चालक कर्मचारी केदार धमलाले जानकारी दिए । पुरस्कार वितरण सभा समापन गर्दै कार्यालय प्रमुख कार्कीले पोखराको भू–वनोटलाई ध्यान दिँदै पानी वितरणमा सामान्य समस्या आएको बताएका थिए ।

पोखरेली उपभोक्तालाई सभ्य र सचेत रहन आग्रह गर्दै फिल्डमा खटिने कर्मचारीलाई मैत्री भावले हेर्न प्रमुख कार्कीले अनुरोध गरे । पुरस्कारको संख्या कम हुने भएकाले सवै कर्मचारीलाई दिन नसकिने बताएका कार्कीले राम्रो काम गर्ने कर्मचारीलाई आज नभएपनि भोलीका दिनमा पुरस्कारको भागीदार हुने बताए । फूल डिउटी र डिउटी फूलको अवधारणा राख्दै प्रमुख कार्कीले कार्यालय अतिरिक्त समयमा विना आदेश गर्ने गरेको जिम्मेवारीलाई संस्थानले मुल्यांकन गर्ने उल्लेख गरे । पोखरा शाखामा धमिलो पानीको समस्या करिव समाधान भईसकेको उल्लेख गर्दै प्रमुख कार्कीले बढ्दो पोखराको जनघनत्वलाई ध्यान दिन संस्थानले तेस्रो मर्दीको योजनालाई अघि सारिने बताए । सिंगो महानगरलाई सेवा दिन तयार रहेको संस्थानले मर्दीसँगै कालीखोला र भोटीखोलाको पानीलाई शुद्धिकरण गर्ने योजना सुरु भएको बताए ।

पुरस्कार वितरण कार्यक्रममा लेखा प्रमुख पुष्पराज जोशी, प्रशासन प्रमुख आनन्दप्रसाद रेग्मी र शिवराज भण्डारी, विन्ध्यवासिनी इकाई प्रमुख प्रकाश सिलवाल, सव–इन्जिनियर लक्ष्मण पाण्डे लगायतले अविर र पुष्पगुञ्छाले कर्मचारीलाई हौसला प्रदान गरेका थिए ।



This will close in 20 seconds