बेगनास तालमा आइतबार देखि ड्रागन बोट रेस प्रतियोगितामा हुने

-


     पोखरा क्लिक     
     चैत्र १० गते २०८० मा प्रकाशित


दीननाथ बराल,

पोखराको बेगनास तालमा भोलि(आइतबार) देखि सुरु हुने ड्रागन बोट रेस प्रतियोगिता हुने भएको छ । सोमबारसम्म चल्ने प्रतियोगितामा ३ वटा महिलाको टिम सहित १४ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक तथा होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले बताउनु भयो ।

राष्ट्रिय स्तरको उक्त प्रतियोगिताको अन्तिम तयारी पूरा भएको उहाँले बताउनु भयो । उक्त प्रतियोगिताको आइतबार बिहान १०ः०० बजे पछि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गर्ने तयारी गरिएको छ । प्रतियोगितामा पोखराका विभिन्न तालबाट, कर्णाली प्रदेशबाट, नेपाल आर्मीको र र्याफ्टीङ एशोसियसन (नारा) सहितको टिम सहभागि भएको संयोजक कँडेलले पोखराक्लिकलाई जनाउनु भयो । प्रतियोगिताको विजेताले २ लाख पुरस्कार प्राप्त गर्ने भएको छ । प्रतियोगितामा पाँच सय मिटरमा दोश्रो हुनेले एक लाख ५० हजार र तेश्रो हुने टिमले ७५ हजार पुरस्कार प्राप्त गर्ने भएको छ । दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख दोश्रोलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

बेगनास तालको पिप्ले टुडादेखि मन्दरे पार्क सम्मको क्षेत्रमा प्रतियोगिता हुने भएको हो । नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको आयोजना, ड्रागन बोट एसोसियसन गण्डकी प्रदेश र होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथको संयुक्त सह—आयोजनमा उक्त प्रतियोगिता हुने भएको हो । लेखनाथ उद्योग बाणिज्य संघ र राष्ट्रिय खेलकुद परिषद उक्त प्रतियोगिताको सहयोगी संस्थाको रुपमा रहेका छन्।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरि ड्रागन बोट रेस प्रतियोगिता हुन लागेको ड्रागन बोट एसोसिएसन गण्डकीका अध्यक्ष दिपक सुवेदीले बताउनु भयो । छनौट चरणबाट प्रतियोगितामा सहभागि गराउनु पर्नेमा समय अभावले गर्दा सिधै प्रतियोगिता हुने भएको उहाँले पोखराक्लिकलाई जनाउनु भयो ।

गत वर्ष पोखराको फेवातालमा अन्तर्राष्ट्रिय स्तरको ड्रागन वोट रेस भएको थियो । फागु पूर्णिमाको अवसर पारेर बेगनास तालमा हुने उक्त प्रतियोगिताले पोखराको खेल पर्यंटन प्रबद्र्धन गर्न टेवा पुग्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रादेशीक कार्यालयका प्रमुख नवीन पोखरेलले बताउनु भयो ।



This will close in 20 seconds