
दीननाथ बराल,
होली पर्वको पूर्व सन्ध्यामा पोखरामा भारतको चर्चीत तथा पूरानो ओडिसी नृत्य प्रर्दशनी गरिएको छ । भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषदको संयुक्त आयोजना गरेको कार्यक्रममा भारतको शास्त्रीय ओडिसी नृत्य र नेपाली लोक नृत्य प्रस्तुतःगरिएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो ।

भारत र नेपालको समृद्ध साँस्कृतिक सम्पदा मनाउन पोखरामा भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोक नृत्य प्रस्तुत गरिएको उहाँले पोखराक्लिकलाई जनाउनु भयो । उक्त साँस्कृतिक कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्दै पोखरामा उक्त नृत्य प्रर्दशनीले नेपाल र भारतको कला संस्कृति संगै पर्यटन प्रबद्र्धनमा धेरै सहयोग हुने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका मन्त्रीहरु, सांसद, कास्कीका स्थानीय सरकारका जनप्रतिनिधि सहितका विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियोे ।

भारतीय राजदूतावासका प्रथम सचिव अविनाश सिंहले भारत र नेपालबीचको सदियौं पुरानो साँस्कृतिक सम्बन्ध बारे बताउदै पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकोमा खुसि व्यक्त गर्नु भयो । श्रीतकमला, सखी हे, दशावतार र वसन्त बहार ः वसन्तको रंग प्रस्तुत गर्दै भारतीय शास्त्रीय नृत्यको कठिन चाल तथा भावभङ्गीमा ओडिसी नृत्य प्रदर्शन गरिएको थियो । लाखे नृत्यसँगै नेपाली लोक नृत्यको नेतृत्व निश्कल उदासले गर्नुभएको थियो भने उहाँलाई सङ्गीतकार निशान श्रेष्ठ, विशेष ताम्राकार, सम्बोधी उदास, सम्राट भारी र आयुष श्रेष्ठले साथ दिनुभएको थियो ।

लेकसाइड स्थित बाराहीघाटको खेल मैदान (पोखरा) मा आयोजित उक्त कार्यक्रममा आन्तरिक तथा बाह्यि पर्यटकहरुको समेत सहभागिता रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रादेशीक कार्यालयका प्रमुख नविन पोखरेलले बताउनु भयो । काकली बोसको नेतृत्वमा रहेको ओडिसी नृत्य टोलीले २०८० चैत्र ९ गते काठमाडौंमा आफ्नो प्रस्तुति प्रस्तुत गरेको थियो । यस कार्यक्रम पश्चात टोलीले चैत्र ११ गते लुम्बिनी, चैत्र १३ गते वीरगंज र चैत्र १४ गते धरानमा प्रस्तुति दिने कार्यक्रम रहेको छ ।







