मोडिफाई गरेका मोटरसाइकल चलाउने चालक सहित वर्कसप संचालकलाई कारवाही सुरु

-


     पोखरा क्लिक     
     फागुन २० गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरामा स्वरूप परिवर्तन (मोडिफाई) गरी मोटरसाइकल चलाउने चालक सहित वर्कसप संचालकलाई कारवाही गर्न सुरु गरिएको छ । पोखरामा पछिल्लो समयमा मोडिफाइ गरी मोटरसाइकल चलाउने युवाको सङख्यामा बृद्धि भएसंगै जिल्ला प्रहरी कार्यालय कास्कीले मोडिफाई गरी सवारी चलाउने र मोडिफाइ गर्ने वर्कसपलाई समेत कार्वाही गर्न सुरु गरिएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

पोखरामा पछिल्लो तीन दिनमै ५९ वटा मोडिफाइ गरेका मोटरसाइकलहरु नियन्त्रणमा लिई आवस्यक कारबाहीको प्रकृया अघि बढाइएको कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले बताउनु भयो । स्वरूप परिवर्तन (मोडिफाई) गरेका मोटरसाइकल चालक र वकसपलाई समाजमा होहल्ला मच्चाई ध्वनी प्रदुषण गर्ने ६ सय ८१ वटा मोटरसाइलाई आफुहरुले नियन्त्रणमा लियर कारवाही गरिएको उहाँले जनाउनु भयो ।

जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा गत भदौं २५ गते देखी स्वरूप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगो समेत निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गर्दै आएको एसपी थापाले बताउनु भयो । उक्त सवारी साधनका धनिहरु माथि कार्वाही हुँदा जरिवाना स्वरुप ७ लाख ४२ हजा ७ सय रुपैया राजश्व संंकलन भएको उहाँले जनाउनु भयो ।

स्वरूप परिवर्तन गरिएका मोटरसाइकलहरू मध्ये पटके कारबाहीमा परेकाहरूलाई आवश्यक कारबाहीको लागी यातायात व्यबबस्था कार्यालय कास्कीमा पठाउने तथा पहिलो पटकमा परेकाहरूलाई मोडीफाई गरिएका सामानहरू फेर्न लगाई पहिलेको जस्तै बनाउन लगाई ट्राफिक नियम उल्लंघनमा जरिबाना गरी अभिभावकको जिम्मा लगाई छाडिएको छ । मोडिफाइ गर्ने सवारी धनि र गराउने वर्कसप समेतको निगरानी गरी पहिचान गर्ने र उक्त वर्कसप संचालकहरू समेतलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ल प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक तिलक मानन्धरले बताउनु भयो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा स्वरुप परिवर्तन, पार्टपुर्जा थप्न वा घटाउन रंग परिवर्तन गर्न नपाईने व्यवस्था रहेको छ यद्यपी यसो गरेको खण्डमा ट्राफिक प्रहरीले न्यूनतम एक हजार देखि यातायात व्यबस्था कार्यालयबाट पटकेमा परेकाहरुलाई १५ हजार सहित अन्य कारवाही हुने व्यबस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानु शर्माले बताउनु भयो । पहिलो पटक मोटरसाइकल मोडिफाइगरेकाहरुलाई सम्झाई बुझाई गरी न्यूनतम शुल्कमा कार्वाही गरी चिठ काटेर पठाउने गरेको उहाँले जनाउनु भयो । दोश्रो पटक पनि पुनः मोडिफाइ गरेकाहरुलाई थप कडा कार्वाहीको लागि सिधैं यातायात व्यबस्था कार्यालयमा कार्वाहीको लागि सिफारिस गर्ने ट्राफिक प्रहरी प्रमुख शर्माले जनाउनु भयो । मोडिफाइ गराउने वर्कसपलाई सार्वजनिक मुद्धा समेत लाग्न सक्ने प्रहरीले चेतावनी दिएको छ ।