पोखराको पश्चिमाञ्चल क्याम्पसमा पहिलोपटक कम्प्युटरबाट बिई÷बिआर्क प्रवेश परिक्षा

-


     पोखरा क्लिक     
     कार्तिक २० गते २०८० मा प्रकाशित


पोखरा २०, कात्तिक

पोखराको लामाचौरस्थित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा पहिलोपटक कम्प्युटरमा आधारित बिई÷बिआर्कको प्रवेश परीक्षा सञ्चालन गरिएको छ । विगत ९ बर्षदेखि काठमाडौँमा सो विषयको प्रवेश परीक्षा सञ्चालन हुँदै आएकोमा पहिलो पटक काठमाडौँ बाहिर समेत परीक्षा लिइएको हो ।

विसं २०७१ साल देखि इन्जिनियरिङ अध्ययन संस्थानका तत्कालिन डीन प्रा. डा. भरतराज पहारीको नेतृत्वमा प्रविधियुक्त नयाँ विधिमा आधारित प्रवेश परीक्षाको शुरुवात गरिएको थियो । पोखरामा पहिलोपटक प्रवेश परीक्षा सञ्चालन गर्न पाउँदा खुशी लागेको पश्चिमाञ्चल क्याम्पसका प्रमुख निर्मल बरालले बताउनुभयो । उहाँले आगामी दिनमा कम्प्यूटर ल्याबहरुको क्षमता बढाउँदै थोरै सिफ्टमा प्रवेश परीक्षा सम्पन्न गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।
क्याम्पस प्रमुख बरालले भन्नुभयो,“पहिलो पटक प्रवेश परीक्षा सञ्चालन गर्न पाउँदा क्याम्पस प्रशासन अत्यन्त आभारी र खुशी छ । परीक्षा सञ्चालनमा सहभागी भइ सहयोग गर्नुहुने शिक्षक, कर्मचारी र आवेदन दिई पश्चिमाञ्चल क्याम्पसलाई आफ्नो परीक्षा केन्द्र बनाउने सबै विद्यार्थीहरुलाई समेत धन्यवाद दिन चाहन्छु ।”

संस्थानका डिन प्रा. डा. शशीधर राम जोशीले प्रवेश परीक्षालाई आङ्गिक क्याम्पसहरुबाट पनि सञ्चालन गर्न बिकेन्द्रिकरणको नीति अपनाए संगै पहिलो पटक पश्चिमाञ्चल क्याम्पसमा प्रवेश परीक्षा सञ्चालन भएको हो । इन्जिनियरिङ अध्ययन संस्थानले यही कार्तिक १४ गते देखि दैनिक चार सिफ्टमा कम्प्यूटर प्रविधिमा आधारित बिई÷बिआर्क प्रवेश परीक्षा काटमाडौं केन्द्रमा सञ्चालन गरिरहेको छ छ । त्यसैगरी कात्तिक १६ गतेदेखि पश्चिमाञ्चल क्याम्पस, पोखरामा समानान्तर रुपमा सञ्चालन भइरहेको हो । पश्चिमाञ्चल क्यान्पसको रिसर्च तथा इनोभेसन भवनको ३ वटा आधुनिक कम्प्यूटर ल्यावहरुमा पहिलो र दोस्रो दिनको पाँच सिफ्टको परीक्षा सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

यो परीक्षा कार्तिक १९ गेतसम्म जम्मा १२ सिफ्टमा सम्पन्न हुनेछ क्याम्पसले जनाएको छ । काठमाडौं केन्द्रमा प्रतिसिफ्टमा तीन सय ५० जनाले र पोखरा केन्द्रमा प्रति सिफ्टमा ६० जनाले कम्प्यूटरमा आधारित प्रवेश परीक्षामा सामेल भइरहेका छन्। पूर्ण सुरक्षित वातावरणमा परीक्षा सञ्चालन भइरहेको र पश्चिमाञ्चल क्याम्पसमा सञ्चालन भइरहेको प्रवेश परीक्षाको पनि काठमाडौं केन्द्रबाटै प्राइभेट नेटवर्क र सिसिटिभी मार्फत प्रत्यक्ष अनुगमन भइरहेको बोर्डका अध्यक्ष तथा सहायक डिन प्राडा सुशीलबहादुर बज्राचार्यले बताउनुभयो । उहाँका अनुसार पहिलो पटक प्रविधिलाई बिस्तार गरी सफलतापूर्वक परीक्षा सञ्चालन गरिएको हो ।

परीक्षार्थीहरुले अनलाईनबाटै आवेदन दिएर प्रवेशपत्र डाउनलोड गरी भौतिक रुपमा ल्यावमा उपस्थित भई परीक्षा दिएका छन् । पहिलो पटक पश्चिमाञ्चल क्याम्पसमा सात सय १ जना परिक्षार्थीहरु प्रवेश परीक्षामा सामेल भइरहेका छन् । आवेदन दिएका परीक्षार्थीहरु मध्य इन्जिनियरिङ अध्ययन संस्थानका पाँच वटा आङ्गिक क्याम्पसमा दुई हजार ४० जना र सम्बन्धनप्राप्त कलेजहरुमा दुई हजार ३ सय ४ जना गरी जम्मा चार हजार ३ सय ४४ जना बिद्यार्थीहरुले प्रति वर्ष इन्जिनियरिङ्ग अध्ययन गर्न पाउँछन् । संस्थानले यस प्रवेश परीक्षा भाद्र २५ गतेदेखिनै सञ्चालन गर्ने कार्यतालिका प्रकाशन गरेको थियो, तर उक्त सूचना सहित बिद्यार्थी भर्नाको शुल्क बृद्दिको पनि निर्णय सार्वजनिक गरेसंगै बिद्यार्थी नेतृत्वबाट बिरोध शुरु भएकाले प्रवेश परीक्षा सञ्चालन अवरुद्ध भएको थियो ।



This will close in 20 seconds