
पोखरा ,
सहारा क्लब पोखराद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीका बालकहरूका लागि सहयोग जुट्ने क्रम पछिल्लो समय बढ्दै गएको छ। पोखरा–१७, दोबिल्लामा रहेको एकेडेमीमा आश्रित बालकहरूको शिक्षा, आवास तथा दैनिक आवश्यकतामा सहयोग पु¥याउने उद्देश्यले विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक तथा सामग्री सहयोग गरेका हुन्।

यसैक्रममा सहारा क्लब हङकङका आजीवन सदस्य दीपक ज्वारचनले आफ्नी दिदी तथा भिनाजु अनिता र बलबहादुर थकालीको स्मृतिमा एकेडेमीका बालकहरूलाई भोजन गराएका छन्। सो अवसरमा उनले २१ हजार रुपैयाँ सहयोगसमेत हस्तान्तरण गरे। त्यस्तै, सहारा क्लब हङकङका आजीवन सदस्य उगेन लामाको स्मृतिमा उनकी श्रीमती कल्पना थकालीले ३१ हजार तथा बहिनी सुविन्द्र थकालीले १६ हजार रुपैयाँ सहयोग गरेका छन्।
सहारा क्लब हङकङका शुभेच्छुक तथा संस्कृति ज्वलर्सका सञ्चालक प्रकाश थापाले पनि एकेडेमीका लागि २० हजार रुपैयाँ प्रदान गरेका छन्। उनले उक्त रकम जयदीप ज्वलर्सका सञ्चालक जयदीप विश्वकर्मामार्फत हस्तान्तरण गरेका हुन्। थापाले सञ्चालन गर्दै आएको संस्कृति ज्वलर्स हङकङसँगै काठमाडौं र बुटवलमा समेत सञ्चालनमा रहेको छ। यसै अवसरमा लक्ष्मी थकाली, सुशील ज्वारचन तथा कास्की परिवार दक्षिण कोरिया नेपाल च्याप्टरका अध्यक्ष एस।पी। अधिकारीसहित पदाधिकारीको उपस्थितिमा एकेडेमीका बालकहरू र होस्टल वार्डेनलाई ३२ थान झोला वितरण गरिएको थियो।
झोला वितरणमा नमस्ते कोरिया संस्थालगायत सहयोगीहरूको भूमिका रहेको थियो। सहयोग प्राप्त भएपछि सहारा क्लब पोखरा परिवारले सहयोगी संस्था तथा सम्पूर्ण सहयोगदाताप्रति आभार व्यक्त गरेको छ। हाल दोबिल्लास्थित सहारा आवासीय फुटबल एकेडेमीमा ३० जना बालकहरू आश्रित रहेको क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए। सहयोगी तथा अतिथिहरूलाई क्लब अध्यक्ष थापा, पूर्व अध्यक्ष विक्रम थकाली, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, उपाध्यक्ष विनु राना मगर, कोषाध्यक्ष लिलबहादुर थापा मगर तथा कार्यसमिति सदस्य अमर राजभण्डारीले स्वागत गरेका थिए।






