पोखरा–दुबई उडान दिगो बनाउन प्रदेश सरकार र निजी क्षेत्र एकजुट (भिडियो सहित) छुट र प्याकेज सार्वजनिक हुदै ..

-


     पोखरा क्लिक     
     असाेज २ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २ असोज,

पर्यटनको राजधानी पोखराबाट सुरु हुन लागेको पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई उडानलाई नियमित र दीर्घकालीन बनाउन गण्डकी प्रदेश सरकार, निजी क्षेत्र तथा पर्यटन व्यवसायी एकजुट भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (शुक्रबार) आफ्नै कार्यालयमा प्रदेशका जनप्रतिनिधि, पर्यटन व्यवसायी, उद्योगी तथा निजी क्षेत्रका प्रतिनिधिलाई बोलाएर उडानको प्रभावकारिता र दिगोपनाका विषयमा छलफल गर्दै कम्तीमा ६ महिनासम्म उडान नियमित हुने वातावरण बनाउन प्रदेशका सबै जिल्ला तथा अन्तरप्रदेशमा संयुक्त रूपमा प्रवद्र्धन अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो।

उहाँले उडानलाई दिगो बनाउन आवश्यक समन्वयका लागि समिति गठन गर्ने तयारीसमेत रहेको जानकारी दिनुभयो। नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्न सके यसको श्रेय नेतृत्वमा रहेका सबै पक्षलाई जाने भएकाले अहिले नै सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने उहाँले बताउनुभयो। पोखरा पर्यटन परिषद्का अध्यक्ष हरिबहादुर भुजेलले दुबईबाट पोखरा आउने पर्यटकलाई लक्षित गरी होटल आवास, खानपिन, साहसिक खेलकुद तथा अन्य पर्यटकीय गतिविधिमा विशेष छुटसहितका प्याकेज ल्याइने बताउनुभयो। विभिन्न व्यवसायीले गिफ्ट ह्याम्परसहितका योजना ल्याउने तयारी गरेका छन्। होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले उडानमा यात्रा गर्ने यात्रु तथा पर्यटकलाई केही होटलले हालको मूल्यमा २५ प्रतिशतसम्म छुट दिने र यो योजना प्रारम्भिक तीन महिनाका लागि लागू हुने पोखराक्लिकलाई जानकारी दिनुभयो। रेवान पोखराका अध्यक्ष वसन्त गौतमले खानामा २० प्रतिशत छुट दिने बताउनुभयो।

प्रदेश सांसद तथा होटल गुडविलका सञ्चालक गणेशबहादुर गुरुङ, परिषद्का अध्यक्ष भुजेल र नाट्टा गण्डकीका अध्यक्ष संगिता पौडेलले समेत आफ्ना होटल तथा रिसोर्टबाट निश्चित संख्यामा निःशुल्क कोठा उपलब्ध गराउने घोषणा गर्नुभएको छ।पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष शोभा गौतमले पोखरामा अन्तराष्ट्रिय हवाई उडान गुर्नपर्छ भन्दै संघको अगुवाईमा अनसन समेत बसेको स्मरण गर्दै अब यसको नियमित उडान गर्ने बिषयमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । जोड दिइन् । टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले पोखरा क्षेत्र विश्वकै उत्कृष्ट गन्तव्य मात्र नभई उहाँ विश्वकै चर्चीत पदमार्गहरु रहेकोले यहाँ नियमित अन्तराष्ट्रिय उडानको राम्रो सम्भावना रहेको तर सुरुवाती चरणमा सबैको साथ र सहयोग आवश्यक भएको बताउनु भयो । लेखनाथ होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष सूर्यबहादुर लामिछानेले पनि दुबई उडानबाट आउने–जाने यात्रु तथा पर्यटकलाई होटल आवासमा २५ प्रतिशत छुट दिने घोषणा गर्नु भयो ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले सबै क्षेत्रको संयुक्त पहलबाट कम्तीमा ६ महिना उडान धान्न सके यसलाई नियमित बनाउन बलियो आधार तयार हुने बताउनुभयो। उहाँले गण्डकी प्रदेशका साथै छिमेकी प्रदेशबाट समेत यात्रु आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो। छलफलमा प्रदेश सांसद प्रकाश बराल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यक्रम अधिकृत युवराज गुरुङ, पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया लगायतको सहभागिता थियो। फ्लाई दुबईले असोज ७ गतेदेखि पोखरा–दुबई दैनिक सिधा उडान सुरु गर्ने तयारी गरेसँगै उडानलाई सफल र दीर्घकालीन बनाउन सरकारदेखि निजी क्षेत्रसम्मले सामूहिक पहल थालेका हुन्।