
काठमाडौँ, २, भदौं
नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) ले ६४औँ इन्जिनियर दिवसका अवसरमा विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याउने इन्जिनियर तथा संस्थालाई सम्मान गरेको छ। यस वर्षको युवा मस्तिष्क र इन्जिनियरिङ उत्कृष्ट नेपालको निर्माण भन्ने मूल नारासहित हालै आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उत्कृष्ट इन्जिनियरहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो।
एनईएको वेबसाइटमा प्रकाशित विवरण अनुसार, यस वर्ष विभिन्न विधामा प्रदान गरिएको सम्मानमा कास्कीका दुई जना इन्जिनियर समेत परेका छन्। कास्कीका इन्जिनियर दिनेश कुमार घिमिरेले ‘सहिद इन्जिनियर नवराज बिष्ट स्मृति पुरस्कार’, इन्जिनियर डा.बिकाश अधिकारीले ‘युवा इन्जिनियर उत्कृष्टता पुरस्कार’ प्राप्त गर्नुभएको छ। समारोहमा इन्जिनियरिङ क्षेत्रमा जीवनभर पुर्याएको योगदानको कदर गर्दै ललितपुरका इन्जिनियर बदन लाल न्याछ्योँलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ। प्राज्ञिक क्षेत्रमा उत्कृष्ट योगदानका लागि स्याङ्जाका प्रा. डा. गजेन्द्र शर्मालाई ‘एकेडेमिक इन्जिनियर उत्कृष्टता पुरस्कार’ तथा नवप्रवर्तनतर्फ काठमाडौंका इन्जिनियर महेश नुनपानेलाई ‘इनोभेटिभ इन्जिनियर उत्कृष्टता पुरस्कार’ प्रदान गरिएको छ।
विशेषगरी, कास्कीका इन्जिनियर दिनेश कुमार घिमिरेलाई इन्जिनियरिङ आदर्श, पेशागत स्वतन्त्रता तथा गुणस्तरीय प्रविधिको प्रयोग गर्दै नेपालको दुर्गम क्षेत्रमा ग्रामीण पूर्वाधार विकासमार्फत जनजीवनमा उल्लेखनीय परिवर्तन ल्याउन पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै ‘सहिद इन्जिनियर नवराज बिष्ट स्मृति पुरस्कार’ प्रदान गरिएको हो। त्यसैगरी, युवा पुस्ताको प्रतिनिधित्व गर्दै कास्कीका इन्जिनियर डा. बिकाश अधिकारीलाई ‘युवा इन्जिनियर उत्कृष्टता पुरस्कार’ प्रदान गरिएको छ। यस सम्मानले इन्जिनियरिङ क्षेत्रमा नयाँ पुस्ताको योगदान, सिर्जनशीलता र नेतृत्व क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यलाई समेत प्रतिबिम्बित गरेको छ।
प्रादेशिक तथा अन्तर्राष्ट्रिय योगदानको कदर गर्दै एनईए लुम्बिनी प्रदेशलाई ‘एनईए प्रादेशिक उत्कृष्टता पुरस्कार’ र जापानमा कार्यरत इन्जिनियर प्रा। डा। होमबहादुर रिजाललाई ‘डायस्पोरा इन्जिनियर उत्कृष्टता पुरस्कार’ प्रदान गरिएको छ। सार्वजनिक सेवातर्फ उल्लेखनीय योगदानका लागि बाराका इन्जिनियर सुनिल कुमार कुशवाहालाई ‘सार्वजनिक सेवा उत्कृष्टता पुरस्कार’ प्रदान गरिएको छ। महिला इन्जिनियर तथा वास्तुविद्को योगदानलाई समेत समारोहमा विशेष प्राथमिकता दिइएको थियो। ललितपुरकी इन्जिनियर सुमिता सुबेदीले ‘महिला वास्तुविद् उत्कृष्टता पुरस्कार’ तथा ललितपुरकै इन्जिनियर डा। रेश्मा श्रेष्ठले ‘महिला इन्जिनियर उत्कृष्टता पुरस्कार’ प्राप्त गर्नुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा मन्त्री विराजभक्त महर्जन तथा नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष इन्जिनियर सुवास चन्द्र बराललगायतको उपस्थिति रहेको थियो। इन्जिनियर दिवसका अवसरमा प्रदान गरिएको यस वर्षको सम्मानले पूर्वाधार विकास, प्राविधिक सेवा, नवप्रवर्तन, अनुसन्धान, सार्वजनिक सेवा तथा ग्रामीण क्षेत्रको विकासमा इन्जिनियरहरूको योगदानलाई संस्थागत रूपमा सम्मान गर्ने एनईएको निरन्तर प्रयासलाई थप उजागर गरेको छ। स्रोतः नेपाल इन्जिनियर्स एसोसिएसनको वेबसाइट ।




