पोखरामा जीडब्ल्युएमको नयाँ शोरुम,नयाँ विद्युतीय गाडी सार्वजनिक

-


     पोखरा क्लिक     
     असाेज १ गते २०८३ मा प्रकाशित


पोखरा १, असोज,

ग्रेट वाल मोटर (जीडब्ल्युएम) नेपालको आधिकारिक विक्रेता रेज मोटर्स प्रालिले पोखराको बुद्धचोकमा नयाँ तथा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ । नयाँ शोरुम सञ्चालनसँगै कम्पनीले जीडब्ल्युएमका दुई नयाँ विद्युतीय गाडी ‘ओरा ५’ र ‘हाभल जोलियन म्याक्स ईभी’ पनि पोखरा बजारमा सार्वजनिक गरेको हो ।

आज बिहीबार आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले उक्त शोरुमको औपचारिक उद्घाटन गर्दै पर्यटकीय राजधानी पोखरामा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जानु सकारात्मक भएको बताउनुभयो । यस्ता सवारीसाधनको विस्तारले पोखराको आकर्षण बढाउनुका साथै वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो ।कम्पनीका प्रतिनिधि, स्थानीय उद्योगी–व्यवसायी, सवारीसाधनप्रेमी तथा सञ्चारकर्मीको उपस्थितिमा आयोजित कार्यक्रममा जीडब्ल्युएमका जर्नल म्यानेजर अजयकुमार श्रेष्ठले जीडब्ल्युएम चार दशक लामो इतिहास बोकेको ब्रान्ड भएको बताउनुभयो । उहाँका अनुसार कम्पनीका नयाँ विद्युतीय गाडीमा कृत्रिम बुद्धिमत्तामा आधारित सफ्टवेयर, सुरक्षा तथा कम मर्मतसम्भार खर्चलाई विशेष प्राथमिकता दिइएको छ ।

पोखरामा सार्वजनिक गरिएको ओरा ५ मा ५८.३ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ। कम्पनीका अनुसार डब्लुएलटीपी मापदण्डअनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ४३५ किलोमिटरसम्म यात्रा गर्न सक्छ । गाडीमा २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको छ भने पाँचतारे सुरक्षा मूल्याङ्कन प्राप्त गरेको कम्पनीले जनाएको छ । त्यस्तै, हाभल जोलियन म्याक्स ईभी मा १५० किलोवाट क्षमताको मोटर र ५८.३ किलोवाट आवरको ब्याट्री रहेको छ। यसले एकपटक चार्ज गर्दा ४०० किलोमिटरभन्दा बढी दूरी तय गर्ने कम्पनीको दाबी छ । जोलियन म्याक्स ईभीमा प्यानोरामिक सनरुफ, १४.६ इन्चको इन्फोटेनमेन्ट सिस्टम, उन्नत चालक सहायता प्रणाली (एडास) तथा भेहिकल–टु–लोड (भीटूएल) प्रविधि उपलब्ध छन् । नयाँ शोरुम सञ्चालनसँगै पोखरा र आसपासका ग्राहकले एउटै स्थानबाट सेल्स, सर्भिस र स्पेयर पाट्र्स अर्थात् थ्रीएस सेवा प्राप्त गर्न सक्ने रेज मोटर्सले जनाएको छ ।

विद्युतीय सवारीसाधनको मर्मतसम्भारका लागि विशेष तालिमप्राप्त प्राविधिक टोली परिचालन गरिने तथा जीडब्ल्युएमका मौलिक स्पेयर पाट्र्स उपलब्ध गराइने कम्पनीले जनाएको छ । शोरुम उद्घाटन कार्यक्रममा कम्पनीका अध्यक्ष अशोक चालिसेले ग्राहकलाई गुणस्तरीय गाडी उपलब्ध गराउनुका साथै बिक्रीपछिको सेवामा पनि विशेष ध्यान दिइने बताउनुभयो । “जीडब्ल्युएमजस्तो अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड पोखरामा ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ,” उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य उत्कृष्ट गाडी बिक्री गर्नु मात्र होइन, बिक्रीपछिको सेवालाई पनि भरपर्दो बनाउनु हो।”

कम्पनीका सेल्स एन्ड अपरेसन महाप्रबन्धक अधिरकुमार श्रेष्ठले पोखराको बजार जीडब्ल्युएमका लागि महत्वपूर्ण रहेको बताउनुभयो । पोखराबाट ब्रान्डको विस्तार गर्दै आगामी दिनमा थप प्रिमियम उत्पादन भित्र्याउन समेत यसले आधार तयार गर्ने उहाँको भनाइ छ । कम्पनीका अनुसार हाभल जोलियन म्याक्स ईभीको मूल्य ५९ लाख ९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । त्यस्तै, ओरा ५ सेमीको मूल्य ४८ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ र ओरा ५ फुल भेरियन्टको मूल्य ५३ लाख ९ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ । बुद्धचोकस्थित नयाँ शोरुम सर्वसाधारणका लागि खुला भइसकेको छ । शोरुमबाट दुवै मोडलको टेस्ट ड्राइभ तथा बुकिङसमेत सुरु गरिएको रेज मोटर्सले जनाएको छ । कार्यक्रममा अटोवेजका सञ्चालक नारायणप्रसाद पौडेल, चालिसे ग्रुपका संस्थापक शिवप्रसाद चालिसे, पश्चिमाञ्चल अटोमोबाइल एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइरालालगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, व्यवसायी र सञ्चारकर्मीको उपस्थिति थियो । सोही अवसरमा अनिलमणि भण्डारीलाई ‘ओरा ५’ गाडीको चाबी हस्तान्तरण गरिएको थियो ।4