
पोखरा,
नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि काठमाडौंलाई नै चलचित्रको मुख्य केन्द्र मानिँदै आएको छ। चलचित्र निर्माणदेखि प्रचार–प्रसार र प्रदर्शनसम्म काठमाडौं केन्द्रित हुनुपर्ने मानसिकता अझै पनि बलियो छ। काठमाडौंमा बसेर चलचित्र प्रदर्शन गरेपछि मात्रै ‘मेनस्ट्रीम’ चलचित्रको पहिचान बनाउन सकिन्छ भन्ने बुझाइ पनि नेपाली चलचित्र वृत्तमा पाइन्छ। तर निर्देशक माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ ले यही स्थापित मान्यतालाई चुनौती दिँदै पोखराबाट पनि मेनस्ट्रीम चलचित्र निर्माण र सफल प्रदर्शन सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
भदौ २६ गतेदेखि प्रदर्शनमा आएको ‘पेन्सन पट्टा’ अहिले दोस्रो सातामा प्रवेश गरिसकेको छ। प्रदर्शनको दोस्रो सातासम्म आइपुग्दा चलचित्रले २ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ। चलचित्रले प्राप्त गरिरहेको दर्शकको साथ, हलमा देखिएको उत्साह र बढ्दो माउथ पब्लिसिटीले ‘पेन्सन पट्टा’प्रतिको आकर्षण अझै बढिरहेको देखाएको छ। पोखरालाई आधार बनाएर लामो समयदेखि कला, संस्कृति र चलचित्र क्षेत्रमा सक्रिय माओत्से गुरुङले ‘पेन्सन पट्टा’मार्फत आफ्नो सिर्जनात्मक यात्रालाई अझ फराकिलो बनाएका छन्। काठमाडौंलाई केन्द्र नबनाई पोखरामै बसेर चलचित्र निर्माण गर्ने र त्यहीँबाट चलचित्रको प्रचार–प्रसार तथा दर्शकसँग प्रत्यक्ष जोडिने उनको शैली अहिले चर्चाको विषय बनेको छ।
‘पेन्सन पट्टा’को सफलताले चलचित्र चल्नका लागि काठमाडौंमा मात्रै केन्द्रित हुनुपर्छ भन्ने मान्यतालाई व्यवहारमै प्रश्न गरेको छ। पोखराबाटै निर्माण भएको चलचित्रले देशभरका दर्शकको ध्यान तान्दै दोस्रो सातासम्म आइपुग्दा उत्साहजनक व्यापार गर्नु यसकै उदाहरण बनेको छ।‘पेन्सन पट्टा’को मुख्य शक्ति यसको कथा र विषयवस्तु रहेको दर्शक प्रतिक्रिया तथा बढ्दो माउथ पब्लिसिटीले देखाएको छ। सामान्य परिवारको जीवन, पेन्सनसँग जोडिएको सपना, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र जिम्मेवारीलाई सामाजिक यथार्थसँग जोडेर प्रस्तुत गरिएको चलचित्रले दर्शकलाई आफ्नै जीवनसँग जोडिन सक्ने वातावरण बनाएको छ। चलचित्र हेरेपछि दर्शकले आफ्ना परिवार, आफन्त र साथीभाइलाई चलचित्र हेर्न आग्रह गर्ने क्रम बढ्दै गएको छ। यही माउथ पब्लिसिटी अहिले ‘पेन्सन पट्टा’को प्रचारको महत्वपूर्ण आधार बनेको छ। सुरुवाती दिनमा प्रचारबाट हलसम्म पुगेका दर्शक अहिले चलचित्र हेरेर फर्किएपछि अरूलाई पनि हलसम्म पुग्न आग्रह गरिरहेका छन्।
कथा र विषयवस्तु बलियो भएको चलचित्रलाई दर्शकले आफैं अगाडि बढाउन सक्छन् भन्ने उदाहरणका रूपमा पनि ‘पेन्सन पट्टा’लाई लिन थालिएको छ। चलचित्रको विषयले दर्शकको मन छोएपछि प्रचारको प्रभावभन्दा पनि दर्शकको व्यक्तिगत सिफारिस महत्वपूर्ण बन्ने गरेको देखिएको छ। ‘पेन्सन पट्टा’ले पोखराका हलमा पाएको दर्शक सहभागिता पनि उल्लेखनीय छ। प्रदर्शनको दोस्रो सातामा पुग्दासमेत चलचित्रप्रति दर्शकको चासो घट्नुको सट्टा बढिरहेको निर्माण पक्षको दाबी छ। कतिपय शोमा अग्रिम बुकिङमै टिकट पाउन कठिन हुने अवस्था सिर्जना भएको छ भने दर्शकहरू टिकट लिन समय कुर्नुपर्ने अवस्थामा समेत पुगेका छन्। पोखराका विभिन्न हलमा चलचित्र हेर्न आउने दर्शकको संख्या बढेसँगै सामाजिक सञ्जालमा समेत चलचित्रको चर्चा बढेको छ। चलचित्र हेरेका दर्शकले आफ्ना प्रतिक्रिया सार्वजनिक गर्ने र अरूलाई पनि हेर्न आग्रह गर्ने क्रमले ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटीलाई थप बल दिएको छ।
विशेषगरी पोखरामा चलचित्रको प्रदर्शनले स्थानीय दर्शक र चलचित्रबीचको सम्बन्धलाई समेत बलियो बनाएको छ। पोखराकै कलाकार, सिर्जनाकर्मी र चलचित्रकर्मीले निर्माण गरेको चलचित्रलाई पोखरेली दर्शकले अपनत्वका साथ ग्रहण गरेका छन्। नेपाली चलचित्रमा ‘मेनस्ट्रीम’को चर्चा गर्दा काठमाडौंलाई केन्द्रमा राख्ने प्रवृत्ति पुरानै हो। ठूला चलचित्रका गतिविधि, प्रिमियर, प्रचार अभियान र मिडिया कभरेज धेरैजसो काठमाडौंमै केन्द्रित हुने गर्छन्। यस्तो अवस्थामा पोखरालाई आधार बनाएर निर्माण गरिएको ‘पेन्सन पट्टा’ले काठमाडौं बाहिरबाट पनि राष्ट्रिय स्तरको चलचित्र निर्माण, प्रचार र प्रदर्शन गर्न सकिने सम्भावना देखाएको छ। माओत्से गुरुङले पोखरामै बसेर चलचित्र निर्माणको अभ्यासलाई निरन्तरता दिँदै आएका छन्। ‘पेन्सन पट्टा’ले भने उनको यो यात्रालाई अझ फराकिलो दर्शकमाझ पु¥याएको छ। चलचित्रले प्राप्त गरिरहेको व्यावसायिक सफलता र दर्शकको प्रतिक्रियाले चलचित्रको केन्द्र केवल राजधानी नभएर कथा, सिर्जना र दर्शकसम्म पुग्ने क्षमतामा पनि निर्भर हुन्छ भन्ने सन्देश दिएको छ। ‘पेन्सन पट्टा’को प्रचार–प्रसारमा सञ्चारमाध्यमको भूमिकालाई पनि महत्वपूर्ण मानिएको छ। चलचित्रको विषय, कलाकारको प्रतिक्रिया, दर्शकको अनुभव, हलमा देखिएको सहभागिता र चलचित्रसँग जोडिएका गतिविधिलाई सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत निरन्तर स्थान दिइँदा चलचित्रको चर्चा देशभर फैलिएको छ।
चलचित्रको सफलतामा निर्माता, निर्देशक, कलाकार र प्राविधिक टोलीसँगै दर्शक, सञ्चारमाध्यम तथा चलचित्र क्षेत्रसँग जोडिएका व्यक्तिहरूको साथ पनि महत्वपूर्ण हुने गर्छ। ‘पेन्सन पट्टा’ले यही सहकार्यको एउटा उदाहरण प्रस्तुत गरेको छ। दोस्रो सातामा प्रवेश गरिसक्दा पनि चलचित्रप्रतिको दर्शक आकर्षण कायमै रहनु र ग्रस कलेक्सन २ करोड रुपैयाँभन्दा माथि पुग्नुले ‘पेन्सन पट्टा’ अहिले नेपाली चलचित्र क्षेत्रमा चर्चाको विषय बनेको छ। अन्ततः पोखरामा बसेर चलचित्र बनाउने माओत्से गुरुङले ‘पेन्सन पट्टा’मार्फत पोखरा पनि नेपाली चलचित्रको बलियो सिर्जनात्मक र व्यावसायिक केन्द्र बन्न सक्छ भन्ने सम्भावनालाई थप बलियो बनाएका छन्। राम्रो कथा, मन छुने विषयवस्तु र दर्शकसँग जोडिने प्रस्तुतिले चलचित्रलाई राजधानीको सीमाभन्दा बाहिर पनि व्यापक बनाउन सकिन्छ भन्ने सन्देश ‘पेन्सन पट्टा’को यात्राले दिएको छ।



