
पोखरा,
साइकल सिटी पोखराले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सफल पौडेललाई साइकल हस्तान्तरण गरेको छ। साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको पहल तथा विभिन्न फनराइड समूहको सहयोगमा पौडेललाई साइकल प्रदान गरिएको हो।
साइकल हस्तान्तरण कार्यक्रममा चालिसे साइकल पोखराका प्रोप्राइटर तथा गण्डकी प्रदेश साइकल संघका अध्यक्ष अशोक चालिसे र चालिसे साइकलका संस्थापक शिव चालिसेको विशेष सहयोग रहेको छ । कार्यक्रममा साइकल सिटी पोखराका अध्यक्ष श्रेष्ठले साइकललाई केवल यातायातको साधनका रूपमा मात्र नभई स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक एकताको माध्यमका रूपमा लिनुपर्ने बताउनुभयो। साइकल संस्कृतिको विकाससँगै सामाजिक सेवाका गतिविधिलाई समेत अघि बढाउन सबैको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
उहाँले साइकलको प्रयोग बढाउन सके स्वस्थ जीवनशैली प्रवर्द्धनसँगै वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने बताउँदै साइकल सिटी पोखराले आगामी दिनमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।त्यस्तै, गण्डकी प्रदेश साइकल संघका अध्यक्ष अशोक चालिसेले साइकलको प्रयोगलाई प्रोत्साहन गर्दै युवापुस्तालाई खेलकुद र स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्न यस्ता सामाजिक कार्यले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साइकलसँग जोडिएका गतिविधिलाई खेलकुद, स्वास्थ्य र सामाजिक सेवासँग जोडेर अघि बढाउनुपर्ने उहाँको धारणा थियो।
कार्यक्रममा शुक्ला गण्डकी साइकल क्लबका अध्यक्ष त्रिलोचन लम्साल, सहयोगी फनराइड समूहका प्रतिनिधि, साइकलप्रेमी तथा अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। साइकल प्राप्त गरेपछि सफल पौडेलले आफूलाई सहयोग गर्ने साइकल सिटी पोखरा, अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, चालिसे साइकल तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्नुभयो। प्राप्त सहयोगले आफूलाई थप उत्साहित बनाएको उहाँले बताउनुभयो।साइकल सिटी पोखराका कोषाध्यक्ष रामनारायण श्रेष्ठले संस्थाले आगामी दिनमा पनि साइकल प्रवर्द्धन, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक सेवासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। कार्यक्रमको सञ्चालन संस्थाका सह–कोषाध्यक्ष जीवन ढुङ्गानाले गर्नुभएको थियो।




