
पोखरा,
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा SABRE Nepal Partner को सहकार्यमा सञ्चालित तीन दिने GDS (Global Distribution System) तालिम सम्पन्न भएको छ। पर्यटन तथा हवाई टिकटिङ व्यवसायमा कार्यरत टुर तथा ट्राभल कम्पनीका कर्मचारी तथा व्यवसायीको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम भदौ २६ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको थियो।

तालिममा नाट्टा गण्डकी प्रदेशमा आबद्ध सदस्य टुर एन्ड ट्राभल कम्पनीबाट ६२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। तालिमको समापन समारोह नाट्टा गण्डकी प्रदेशका अध्यक्ष संगीता शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी बोर्ड सदस्य एवं नाट्टा गण्डकी प्रदेशका पूर्वअध्यक्ष सन्तोष पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

समापन समारोहमा पोखरा पर्यटन परिषद् तथा परिषद्सँग आबद्ध विभिन्न पर्यटन संघ–संस्थाका अध्यक्ष तथा पदाधिकारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका प्रतिनिधि, सेभर नेपालका प्रशिक्षक तथा SABRE Nepal का प्रतिनिधिलगायत पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष एवं नाट्टा गण्डकी प्रदेशका पूर्वअध्यक्ष हरिराम अधिकारीले प्रविधिको तीव्र विकाससँगै पर्यटन व्यवसायमा पनि डिजिटल प्रणालीको प्रयोग र दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएको बताउनुभयो। आधुनिक प्रविधिमा आधारित तालिमले पर्यटन व्यवसायी तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्नुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।
तालिममा सहभागीहरूलाई विश्वव्यापी हवाई टिकटिङ तथा पर्यटन सेवामा प्रयोग हुने GDS प्रणालीको प्रयोग, टिकटिङ प्रक्रिया, बुकिङ व्यवस्थापन तथा प्रविधिको व्यावहारिक प्रयोगसम्बन्धी विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ। नाट्टा गण्डकी प्रदेशले पर्यटन क्षेत्रलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने उद्देश्यले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
समापन कार्यक्रमको सञ्चालन नाट्टा गण्डकी प्रदेशका महासचिव ताराप्रसाद गौतमले गर्नुभएको थियो। कार्यक्रममा पर्यटन क्षेत्रका व्यवसायी, संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको सक्रिय सहभागिता रहेको थियो। नाट्टा गण्डकीका अनुसार पछिल्लो समय पर्यटन व्यवसायमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएकाले व्यवसायी तथा कर्मचारीलाई नयाँ प्रविधिसँग परिचित गराउँदै दक्ष बनाउने यस्ता तालिमले गण्डकीको पर्यटन क्षेत्रलाई थप व्यावसायिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।




