भोटेकोशी बाढीका दिवंगतको सम्झनामा पोखरामा १०८ दीप प्रज्वलन

-


     पोखरा क्लिक     
     भाद्र २२ गते २०८३ मा प्रकाशित


पोखरा,

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरामा १०८ दीप प्रज्वलनसहित स्वस्ति–शान्ति पाठ तथा पूजाआजा गरिएको छ। बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको १३औँ पुण्यतिथिको अवसरमा पोखरा महानगरपालिका–१६ स्थित सिसाघारी, गण्डकी किनारमा सोमबार बिहान धार्मिक विधिअनुसार स्वस्ति वाचन, शान्ति पाठ तथा दीप प्रज्वलन गरिएको हो।

बाढीले बगाएर ल्याएका ७८ वटा शवहरूको व्यवस्थापन गरिएको उक्त स्थलमा धार्मिक गुरुहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै स्वस्ति–शान्ति पाठ तथा प्रार्थना गरेका थिए। कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे भने शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे। कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलगायत सहभागी थिए। उनीहरूले दीप प्रज्वलन गर्दै विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरे। सो अवसरमा विपद्बाट प्रभावित परिवारको पीडामा राज्य र समाजले निरन्तर साथ दिनुपर्नेमा जोड दिइएको थियो। साथै सरकारले सञ्चालन गरिरहेको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग र सहकार्य गर्नसमेत आग्रह गरिएको थियो।

भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको स्मरण गर्दै सहभागीहरूले विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झना र उनीहरूका परिवारले भोगिरहेको पीडाप्रति ऐक्यबद्धता जनाएका थिए। १३औँ पुण्यतिथिका अवसरमा गरिएको दीप प्रज्वलनले विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनालाई जीवन्त राख्दै उनीहरूप्रति श्रद्धा र सम्मान व्यक्त गरेको आयोजकले जनाएको छ। सोमबार साँझ पोखराघर, पोखरा महानगरपालिकाका सबै वडा कार्यालय तथा प्रमुख सार्वजनिक स्थलहरूमा समेत दीप प्रज्वलन गरी दिवंगतहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता प्रकट गरिएको छ। दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति कार्यक्रमका सहभागीहरूले हार्दिक समवेदना व्यक्त गरेका छन्।