
पोखरा,
पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा नयाँ अध्याय थपिएको छ। संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएसँगै निजी क्षेत्रको यो पुरानो छाता संगठनले पहिलोपटक महिला नेतृत्व पाएको हो।

संघको ३६औँ महाधिवेशनअन्तर्गत आइतबार भएको निर्वाचनमा अध्यक्ष पदका अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै गौतम निर्वाचित भएकी हुन्। अन्तिम मतपरिणामअनुसार गौतमले ७५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६३७ मत पाए। उत्तममान बुद्धाचार्यले ६०१ र बलराम आचार्यले २५३ मत प्राप्त गरे । गौतमले पोखरेललाई ११४ मतको अन्तरले पराजित गरेकी हुन्। संघका २ हजार ७३१ सदस्य मतदाता रहेकामा अध्यक्ष तथा पदाधिकारीतर्फ २ हजार २७४ मत खसेको निर्वाचन समितिका संयोजक दामु अधिकारीले बताए । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा यसअघि महिला तर्फ हीरा भट्टराई र बिन्दु कोइरालाले पनि प्रतिस्पर्धा गरेका थिए। तर, महिला नेतृत्वको प्रयास सफल हुन सकेको थिएन। गौतमको जितसँगै संघको इतिहासमा पहिलोपटक महिलाले अध्यक्षको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको हो।
गौतमको व्यावसायिक यात्रा भने आजभन्दा करिब २६ वर्षअघि संघकै कार्यालयअगाडि सञ्चालन गरेको सानो चिया पसलबाट सुरु भएको थियो। सामान्य व्यवसायबाट सुरु भएको उनको यात्रा अहिले ब्युटी पार्लर, लुब्रिकेन्ट, फेसन, इभेन्ट म्यानेजमेन्ट, रेस्टुरेन्ट, कृषि तथा ग्रोसरीलगायतका विभिन्न क्षेत्रमा फैलिएको छ। उनी २०७३ सालमा पोखरा उद्योग वाणिज्य संघको साधारण सदस्यका रूपमा संस्थागत यात्रामा प्रवेश गरेकी थिइन्। त्यसपछि सर्वाधिक मतसहित कार्यसमिति सदस्य निर्वाचित हुँदै उपमहासचिव र महासचिवको जिम्मेवारी सम्हालिसकेकी गौतम अहिले संघको सर्वोच्च कार्यकारी नेतृत्वमा पुगेकी हुन्। गौतमले निर्वाचनका क्रममा ‘सुदृढ संघ, सक्षम नेतृत्व र समावेशी टिम’ तथा ‘जुझारु नेतृत्व–सबल संघ, समृद्ध पोखरा’ भन्ने नारासहित प्यानल घोषणा गरेकी थिइन्। उनले सार्वजनिक गरेको १४ बुँदे प्रतिबद्धता पत्रमा ‘मेड इन पोखरा’ अभियान, महिला तथा युवा उद्यमशीलताको प्रवर्द्धन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनलाई प्राथमिकतामा राखेकी छन्।
निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानाङ्ग, कोषाध्यक्षमा देवेन्द्र प्रजू र उपमहासचिवमा प्रदीप राजभण्डारी निर्वाचित भएका छन्। उद्योग उपाध्यक्षमा निर्वाचित सौगात थापा गौतम प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका थिए। त्यस्तै खुला सदस्यतर्फ दुर्गा बराल, अमृत पोख्रेल, निर्मला चापागाईं, गोविन्दबहादुर केसी, रामेश्वर अधिकारी, मनोहरि पौडेल, भानुभक्त अधिकारी, दिलीपकुमार श्रेष्ठ, रामप्रसाद कँडेल र कमलबहादुर सुनार निर्वाचित भएका छन्। वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा औद्योगिक सदस्यमा पिताम्बर अधिकारी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। संघको नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ। गौतमको नेतृत्वसँगै पोखराको निजी क्षेत्रले महिला नेतृत्व, समावेशिता र उद्यमशीलताको नयाँ अभ्यासतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ। शनिबार निर्वाचन भए पनि आइतबार मतगणना भएको हो । तष्विर दुर्गा प्रसाद पौडेल ।




