पोखराको फेवातालमा सरसफाइ, एक गाडी फोहोर संकलन

-


     पोखरा क्लिक     
     भाद्र २१ गते २०८३ मा प्रकाशित


पोखरा,

फेवाताल संरक्षण अभियान अन्तर्गत पोखरा महानगरपालिका–१८ स्थित खपौंदी क्षेत्रमा बृहत् सरसफाइ गरिएको छ। वातावरण संरक्षणका लागि महाअभियान, कास्कीको अगुवाईमा फेवातालको स्वच्छता र वातावरणीय संरक्षणका लागि जलारी दिदीबहिनी समूह, फेवातालमा आश्रित जलारी समुदायको सहकार्यमा नियमित रूपमा हुँदै आएको सरसफाइ अभियानअन्तर्गत ताल किनार तथा प्याराग्लाइडिङ ल्यान्डिङ क्षेत्रमा सरसफाइ गरिएको हो।

हरेक महिनाको तेस्रो आइतबार सञ्चालन हुँदै आएको अभियानमा ताल किनारमा फालिएका प्लास्टिकजन्य फोहोर, सिसाका बोतल तथा अन्य विभिन्न प्रकारका फोहोर संकलन गरिएको वातावरण संरक्षणका लागि महाअभियान, कास्की का संयोजक रामबहादुर पौडेलले बताए । सरसफाइका क्रममा करिब एक गाडी फोहोर संकलन गरिएको आयोजकले जनाएको छ। फेवाताल संरक्षणमा नागरिक खबरदारी आवश्यक रहेको भन्दै वातावरण संरक्षणका लागि विभिन्न संघसंस्था तथा समूहले अभियानमा ऐक्यबद्धता जनाएका थिए। कार्यक्रममा डिभिजन वन कार्यालय कास्कीका प्रमुख करुणा कार्की, पोखरा महानगरपालिकाको सरसफाइ शाखा, पोखरा महानगरपालिका–६ का जनप्रतिनिधि शोभा जलारी, महिला सञ्जाल बैदामलगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध दिदीबहिनी तथा दाजुभाइको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले फेवाताल केवल पोखराको पर्यटकीय आकर्षण मात्र नभई प्राकृतिक, वातावरणीय तथा सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए। ताल वरिपरिका बस्ती, पर्यटक तथा व्यवसायबाट उत्पादन हुने फोहोरको उचित व्यवस्थापन गर्न सके फेवातालको प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने उनीहरूको भनाइ थियो। फेवाताल क्रमशः प्रदूषित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै आयोजकहरूले नियमित सरसफाइसँगै फोहोर उत्पादन हुने स्रोतदेखि नै व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। तीनै तहका सरकार, सुरक्षा निकाय, पर्यटन व्यवसायी, नागरिक समाज तथा स्थानीय समुदायबीच सहकार्य र समन्वयबाट मात्रै फेवाताल संरक्षण अभियानलाई प्रभावकारी बनाउन सकिने उनीहरूको भनाइ छ। उक्त अभियानले तालको सौन्दर्य कायम राख्नुका साथै स्थानीय समुदायमा वातावरण संरक्षणप्रतिको जिम्मेवारी र नागरिक चेतना बढाउन सहयोग पुग्ने विश्वास गरिएको पौडेलले बताए ।