
पोखरा,
आफ्नो घर–सम्पत्ति गुमाउनुको पीडा भोगिरहेका ध्रुव थापा र मिलन थापा परिवारले आफ्नै दुःखलाई एकातिर पन्छाउँदै बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारको सहयोगमा हातेमालो गरेका छन् । थापा परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेका हुन् ।

आफ्नै घर खरानी भएको कहालीलाग्दो घटनाको एक वर्ष पुग्नै लाग्दा पनि थापा परिवारको घर पुनर्निर्माण हुन सकेको छैन। अहिले पनि साथीले उपलब्ध गराएको अपार्टमेन्टमा बस्दै आएको परिवारले आफ्नै पीडाका बीच विपद्मा परेका अन्य समुदाय र परिवारका लागि केही गर्नुपर्छ भन्ने भावनाका साथ राहत तथा सहयोग अभियानमा सक्रियता देखाएको हो ।

“आफ्नो प्यारो घर गुमाउनु पर्दाको पीडा कस्तो हुन्छ, भोग्नेलाई मात्र थाहा हुन्छ । हामी आफैँ पनि अझै पीडामै छौँ। तर आफू जस्तोसुकै अवस्थामा भए पनि मानवीय संवेदना कहिल्यै मर्दैन रहेछ, सेवाको भावना पनि कतै नजाने रहेछ ।” मिलन थापाले भनिनु । थापा परिवारले आफूहरूले गरेको सहयोग कुनै व्यक्तिगत स्वार्थ वा उद्देश्य प्राप्तिका लागि नभएको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा आफूहरूको सहयोगलाई लिएर गरिएका कतिपय टिप्पणीले दुःख लागेको उल्लेख गर्दै परिवारले विपद्का बेला विगतदेखि नै निरन्तर सहयोग गर्दै आएको स्मरण गराउनु भएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पका बेला तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले तीन जिल्लाका लागि उहाँहरुको नेतृत्वमा करिब एक करोड रुपैयाँ बराबरका तीनवटा एम्बुलेन्स प्रदान गरिएको थियो। त्यस्तै, कोभिड–१९ महामारीका समयमा निःशुल्क सञ्चालनका लागि विभिन्न संघसंस्थालाई चारवटा शववाहन तथा एम्बुलेन्स समेत उपलब्ध गराइएको परिवारले जनाएको छ । यसपटकको विपद्मा पनि थापा परिवारका कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु. ५० लाखको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई केही दिन अघि नै हस्तान्तरण गरेका थिए । त्यसैगरी, लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालको समन्वयमा नुवाकोटको त्रिशूली क्षेत्रका दुई अस्थायी आश्रयस्थल—भैरूम माध्यमिक विद्यालय र त्रिशूली प्राथमिक विद्यालयमा करिब ३० लाख रुपैयाँ बराबरको स्वच्छ खानेपानी प्रशोधन प्रणाली जडान गरिएको छ ।
सौर्य ऊर्जामा आधारित उक्त पानी प्रशोधन प्रणालीले प्रति घण्टा एक हजार लिटर पानी शुद्धीकरण गर्ने क्षमता राख्छ । यसबाट तत्काल आश्रयस्थलमा रहेका विपद् प्रभावित परिवारलाई स्वच्छ खानेपानी उपलब्ध हुने तथा दीर्घकालीन रूपमा सोही विद्यालयमा अध्ययनरत विद्यार्थीसमेत लाभान्वित हुनेछन्। थापा परिवारले आश्रयस्थलमा रहेका तथा वरपरका घरमा आश्रय लिएर बसिरहेका अन्य विपद् प्रभावित परिवारलाई समेत आधारभूत आवश्यकताका सामग्री वितरण गरेको छ । करिब १२ घण्टाको कठिन यात्रा पार गर्दै नुवाकोटको त्रिशूलीपारिका विकट क्षेत्रमा पुगेको थापा नेतृत्व टोलीले करिब ४०० जनाका लागि डसना, सिरानी, तन्ना, औषधि तथा स्वास्थ्य सामग्री, अत्यावश्यक खाद्यान्न, तरकारी, खाना पकाउने सामग्री तथा भाँडाकुँडा, पुरुष, महिला तथा बालबालिकाका लागि कपडालगायतका आधारभूत सामग्री वितरण गरेको थियो।
आफ्नै घर गुमाएको पीडा बोकेर पनि अरूको दुःखमा मल्हम लगाउन अघि सरेको ध्रुर्व थापाले बताए । थापा परिवारको यो सहयोगले विपद्का बेला मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको महत्त्वलाई उजागर गरेको छ । थापा परिवारका अनुसार विपद्को कठिन घडीमा पीडित परिवारको साथमा उभिनु केवल सामाजिक दायित्व मात्र नभई मानवीय कर्तव्य पनि भएको जनाए । परिवारले विपद्को समयमा पीडितहरूको वास्तविक आवश्यकता बुझेर मात्र सहयोग गर्न सबैमा आग्रह गरेको छ । “विपद्को यो कठिन समयमा पीडितहरूको साथमा हातेमालो गरौँ, आवश्यकता बुझेर मात्र सहयोग गरौँ। सेवा नै सबैभन्दा ठूलो धर्म हो।” थापा परिवारले भने । ध्रुव थापा र मिलन थापा पोखराका प्रख्यात व्यवसायी तथा समाजसेबी हुन्, जो हालै बाढी तथा विपद् प्रभावितहरूका लागि गरिएको करोडौंको राहत सहयोग अन्य व्यवसायीको प्रेरणाको श्रोत हुन् । ध्रुव थापा हिमालय अर्गनाइजेसनका अध्यक्ष तथा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष हुन् भने मिलन थापाः हिमालय अर्गनाइजेसनकी प्रबन्ध निर्देशक हुन्।






