
पोखरा,
पुरस्कार जितेपछि त्यसको खुसी आफैंमा सीमित नराखी बाढीपीडितको पीडामा बाँड्ने प्रयास गरेका छन् पोखराका फोटोपत्रकार प्रेम थापाले । टोग्राफीमार्फत समाज र देशलाई चिनाउँदै आएका थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित भएका हुन्। अवार्डसँगै प्राप्त नगद पुरस्कारमा आफ्नै तर्फबाट सोही बराबरको रकम थपेर उनले बाढी प्रभावित परिवारको सहयोगका लागि प्रदान गरेका छन्।
पोखरा फोटोग्राफर संघको आयोजनामा भएको ४५औँ वार्षिक साधारण सभा, पाँचौँ पोखरा फोटोग्राफी अवार्ड वितरण, ‘फोकस’ तेस्रो स्मारिका विमोचन तथा २५औँ अधिवेशन समारोह–२०८३ का अवसरमा थापालाई उक्त अवार्ड प्रदान गरिएको हो। लामो समयदेखि फोटोग्राफी तथा फोटो पत्रकारितामा सक्रिय थापा राष्ट्रिय फोटोपत्रकार समूह, जिल्ला शाखा कास्कीका सचिव, चलचित्र पत्रकार संघ कास्कीका कार्यसमिति सदस्य तथा ‘इभेन्ट पोखरा’का सञ्चालक समेत हुन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्दै फोटोग्राफीमार्फत देशको पहिचान र गौरवलाई उजागर गर्दै आएका छन्। यसअघि बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय फोटोपत्रकारिता अवार्डबाट समेत थापा सम्मानित भइसकेका छन्।
अवार्डबाट प्राप्त रकममा आफ्नो तर्फबाट थप रकम राखेर बाढीपीडितलाई सहयोग गर्ने निर्णयबारे थापाले सामाजिक सेवाको भावना नै आफ्नो प्राथमिकता भएको बताए। “सानो सहयोगले पनि कसैको दुःखमा थोरै भए पनि राहत मिलोस् भन्ने हाम्रो प्रयास हो,” उनले भने। अवार्ड जितेको खुसीलाई सामाजिक सेवासँग जोड्दै थापाले गरेको यो पहलले पुरस्कार केवल व्यक्तिगत उपलब्धिको विषय नभई समाजप्रतिको जिम्मेवारी पूरा गर्ने अवसर पनि बन्न सक्छ भन्ने सकारात्मक सन्देश दिएको छ। सम्मान पाएपछि आफूले पाएको खुसी पीडितसँग बाँड्ने थापाको यो कदमले फोटोग्राफी र पत्रकारितासँगै मानवीय संवेदनाको पनि सुन्दर उदाहरण प्रस्तुत गरेको छ।





