
पोखरा, २० भदौ,
पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका उदयपुरका २१ वर्षीय आयुष तामाङको मृत्यु भएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले तालको करिब ३० फिट गहिराइबाट अचेत अवस्थामा उद्धार गरी अस्पताल पु¥याए पनि उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।
पोखरा महानगरपालिका–६ स्थित तालबाराही मन्दिर पछाडि शनिबार कायकिङ गर्ने क्रममा तामाङ तालमा डुबेका थिए । उनी डुबेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं। २४ गण हेडक्वाटर कालिका फेवा रेस्क्यु टावरबाट तत्काल उद्धार टोली परिचालन गरिएको थियो ।सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा गोताखोरसहितको विपद् उद्धार टोली आवश्यक सामग्री लिएर घटनास्थल पुगेको थियो । टोलीले तालमा खोजतलास गर्ने क्रममा दिउँसो २ बजेर ५० मिनेटमा करिब ३० फिट गहिराइमा तामाङलाई फेला पारेको थियो ।
तालबाट बाहिर निकाल्दा तामाङ अचेत अवस्थामा थिए । उद्धारपछि तत्काल उपचारका लागि उनलाई दिउँसो २ बजेर ५५ मिनेटमा अस्पताल पठाइएको थियो । अस्पतालमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपक रिजालले तालबाट अचेत अवस्थामा उद्धार गरी अस्पताल पु¥याइए पनि उपचारका क्रममा तामाङको मृत्यु भएको जानकारी दिए । मृतकको शव अस्पतालमै राखिएको छ । फेवातालमा हुने सम्भावित दुर्घटना न्यूनीकरण तथा उद्धारका लागि सशस्त्र प्रहरीले फेवा रेस्क्यु टावरबाट नियमित निगरानी गर्दै आएको छ । दुर्घटनाको सूचना प्राप्त हुनासाथ गोताखोरसहितको टोली परिचालन गरिए पनि तामाङलाई बचाउन नसकिएको सशस्त्र प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हिजो शुक्रबार फेवातालमा कार खस्दा दुई भारतीय पर्यटकको ज्यान गएको छ भने दुई जना घाइते भएका थिए । पटक पटक फेवातालमा यसरी विभिन्न वहानामा पर्यटक तथा स्थानियको ज्यान जाने घटना प्रति अब सरोकारवाला निकाय अझ बढी गम्भिर भई जल यात्रा गर्दा वा वाटर स्पोट्र्सका खेल गर्दा अनिवार्य रुपमा फाइफ ज्याकेट लगाउनु पर्ने स्थानियले माग गर्नु भएको छ । प्रशासनले केही समय अनिवार्य लाइफ ज्याकेट गराए पनि नियमन नहुदा सानो लापरवाहीले पर्यटकको ज्यान गएको छ ।





