१२ वर्षको व्यवसायिक अनुभव बोकेर पोउवा संघको चुनावी मैदानमा राम कँडेल, हँसिलो स्वभाव, कामप्रतिको विश्वास र संस्थागत अनुभवसँगै व्यवसायीको साझा आवाज बन्ने लक्ष्य

-


     पोखरा क्लिक     
     भाद्र २० गते २०८३ मा प्रकाशित


पोखरा

हँसिलो अनुहार, सरल व्यवहार र कामप्रतिको दृढ विश्वास । व्यवसायमा निरन्तर सक्रियता र सहकर्मी व्यवसायीलाई अघि बढ्न प्रेरित गर्ने स्वभाव। यही पहिचान बोकेर युवा व्यवसायी राम कँडेल पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा खुला सदस्य पदका उम्मेदवार बनेका छन्।

करिब १२ वर्षअघि व्यवसायिक क्षेत्रमा प्रवेश गरेका कँडेलले आफ्नो व्यवसायिक यात्रालाई विस्तार गर्दै लैजाँदा हस्पिटालिटी, होटल तथा पर्यटन, मानव संसाधन, सुविधा व्यवस्थापन, ट्रेडिङ, सुरक्षा सेवा तथा नेपाली मौलिक उत्पादनका क्षेत्रमा अनुभव हासिल गरेका छन्। व्यवसायमा आएको उतारचढाव, बजारको परिवर्तन र व्यवसायीले भोग्नुपर्ने व्यावहारिक समस्यालाई नजिकबाट बुझेका उनी अब त्यही अनुभवलाई संघमार्फत व्यवसायीको हितमा प्रयोग गर्न चाहन्छन्। कँडेलको व्यवसायिक यात्रासँगै विकसित विभिन्न क्षेत्रमा सक्रिय छ। राष्ट्रिय पोशाक घरमार्फत नेपाली मौलिक उत्पादन ढाका, खादी, अल्लो लगायतका सामग्रीलाई बजारसँग जोड्ने प्रयास गरेका उनले होटल तथा पर्यटन, मानव संसाधन, सुविधा व्यवस्थापन, हस्पिटालिटी सामग्री तथा सुरक्षा सेवामा समेत आफ्नो व्यवसायिक संलग्नता विस्तार गरेका छन्।

फरक–फरक प्रकृतिका व्यवसायसँग जोडिँदा उनले साना तथा मझौला व्यवसायीदेखि ठूला व्यवसायीसम्मका समस्या नजिकबाट बुझ्ने अवसर पाएका छन्। उनका लागि व्यवसाय केवल नाफा कमाउने माध्यम मात्र होइन, रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारको आधार पनि हो। संघको अनुभव पनि कँडेलको बलियो पक्ष हो। उनी २०७५–७९ र २०७९–८३ गरी दुई कार्यकाल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यका रूपमा काम गरिसकेका छन्। संघको संस्थागत संरचना, व्यवसायीका समस्या तथा सरकारी निकायसँगको समन्वयलाई नजिकबाट बुझेका कँडेल यसपटक विगतको अनुभवलाई अझ परिणाममुखी काममा रूपान्तरण गर्ने लक्ष्यसहित चुनावी मैदानमा छन्।

व्यवस्थापनमा पोखरा विश्वविद्यालयबाट एमबीए गरेका कँडेल व्यावसायिक ज्ञान र व्यावहारिक अनुभवलाई सँगसँगै अघि बढाउनुपर्ने मान्यता राख्छन्। विशेषगरी युवा उद्यमशीलता, डिजिटल व्यवसाय, स्थानीय उत्पादनको बजार विस्तार, पर्यटन तथा हस्पिटालिटी क्षेत्रको विकास र व्यवसायमैत्री नीतिलाई प्राथमिकतामा राखेका छन्। युवा व्यवसायीमाझ लोकप्रिय कँडेल नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्न सीप, प्रविधि, बजार पहुँच र परामर्शको आवश्यकता रहेको बताउँछन्। काम गरेर देखाउने संस्कारले व्यवसायीलाई उत्साहित र हौसला दिने उनीसँग जोडिएका व्यवसायीहरूको धारणा छ।

“व्यवसायीका समस्या सुन्ने मात्र होइन, समाधानका लागि सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा आवाज पुर्‍याउन सक्ने संघ आवश्यक छ,” कँडेल भन्छन्। ‘एकता, नेतृत्व र प्रतिबद्धता—समृद्ध व्यवसाय, समृद्ध पोखरा’ भन्ने सन्देशसहित चुनावी मैदानमा रहेका कँडेल आफ्नो १२ वर्षको व्यवसायिक अनुभव, दुई कार्यकालको संघीय अनुभव र व्यवस्थापन शिक्षालाई व्यवसायीको साझा हितमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छन्। उनको लक्ष्य स्पष्ट छ—व्यवसायीबीच एकता बलियो बनाउने, निजी क्षेत्रको आवाज प्रभावकारी बनाउने र अनुभवसँगै नयाँ पुस्तालाई अवसर दिने उद्योग वाणिज्य संघ निर्माणमा योगदान गर्ने।