
दीननाथ बराल,
पोखरा २७, साउन,
नेपालको क्यानोइङ खेलका लागि पोखराबाट अर्को अन्तर्राष्ट्रिय यात्रा तय भएको छ। आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि नेपालबाट कायक स्लालम तथा कायक क्रस विधामा प्रतिस्पर्धा गर्न विजय माझी र आशिष राना मगर छनोट भएका छन्।

एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीमा स्थान बनाएपछि दुवै खेलाडी अहिले पोखराको फेवातालमा प्रशिक्षणमा व्यस्त छन्। उनीहरूलाई नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका प्रमुख प्रशिक्षक तथा पोखरामा प्रशिक्षण गराउँदै आउनुभएका निमबहादुर मगरले प्रशिक्षण दिइरहनुभएको छ। २५ वर्षीय विजय माझीका लागि भने यो यात्रा विशेष अर्थपूर्ण छ। केही वर्षअघिसम्म पर्यटकको सुरक्षाका लागि तमोर नदीमा र्याफ्टिङ गाइडका रूपमा काम गर्ने विजय अहिले नेपाली झण्डा बोकेर एसियाको सबैभन्दा ठूलो बहुराष्ट्रिय खेलकुद प्रतियोगितामध्ये एकमा प्रतिस्पर्धा गर्ने अवस्थामा पुग्नुभएको छ। तमोरका तीव्र बहाव र जोखिमपूर्ण जलयात्रामा पर्यटकलाई सुरक्षित रूपमा नदी पार गराउने अनुभव बोकेका विजयले अब त्यही जलकौशललाई अन्तर्राष्ट्रिय खेलकुदको मैदानमा प्रदर्शन गर्नेछन्। र्याफ्टिङबाट सुरु भएको उनको खेलयात्रा एसियाली खेलकुदसम्म आइपुग्दा संघर्ष, मेहनत र निरन्तर अभ्यासको परिणाम बनेको छ।
विजयसँगै सिन्धुपाल्चोकका आशिष राना मगरले पनि नेपालको क्यानोइङ टोलीमा स्थान बनाउनुभएको छ। दुवै खेलाडीले जापानमा हुने प्रतियोगितामा कायक स्लालम तथा कायक क्रस विधामा नेपालको प्रतिनिधित्व गर्नेछन्। नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्षसमेत रहनुभएका प्रशिक्षक निमबहादुर मगरका अनुसार पोखराको फेवाताल तथा आसपासका क्षेत्रमा खेलाडीलाई नियमित प्रशिक्षण दिइरहनुभएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै प्राविधिक क्षमता, शारीरिक फिटनेस र प्रतिस्पर्धात्मक तयारीलाई विशेष प्राथमिकता दिइएको उहाँले पोखराक्लिकलाई बताउनुभयो। पोखरा क्यानोइङ तथा जलखेलका लागि महत्वपूर्ण केन्द्र बन्दै गएको अवस्थामा फेवातालमा भइरहेको यो प्रशिक्षणले नेपालको जलखेलको सम्भावनालाई समेत उजागर गरेको छ। नेपालका नदी र तालहरू मनोरञ्जन तथा पर्यटनका लागि मात्र नभई अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने आधार बन्न सक्ने मगरको भनाइ छ । तस्बिर सुदर्शन रञ्जित




