
पोखरा,
पोखरा उद्योग वाणिज्य संघले पोखरा ४, गैह्रापाटनमा रहेको सचिवालय अगाडि बिश्राम गर्ने चौतारी निर्माण गरेको छ । चौतारीमा आइतबार पोखरा महानगपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले नारेश्वरको विरुवा रोपे । उनले चौतारोको अनावरणसमेत गरे । यसअघि पनि सो ठाउँमा चौतारौ नै रहेको थियो । तर, चौतारोमा रहेको राजवृक्ष सुकेपछि त्यसको पुननिर्माण र नयाँ विरुवा रोपिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले जानकारी दिए । चौतारो निर्माणको अभियानलाई वडा कार्यालय तथा स्थानीय आमा समूहले सघाएको र सवै स्थानीयको सहमतिमा चौतारौ ठडिएको उनले बताए ।
चौतारीको अनावरण गर्दै पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले पोखरा चौतारो नै चौतारोको सहर भएको स्मरणमात्र गरेनन्, वडाले अहिले ५ ठाउँमा यस्तै चौतारी बनाएको जानकारी पनि दिए । स्थानीय लक्ष्मीदेवी पराजुलीले चौतारी निर्माणले गैह्रापाटनमा एउटा अर्को विश्रामस्थल थपिएको बताइन् । पोखरा उद्योग वाणिज्य संघका वाणिज्यतर्फका उपाध्यक्ष बलराम आचार्यको धन्यवाद रहेको सो कार्यक्रमको संचालन महासचिव शोभा गौतमले गरेकी थिइन् । चौतारीको निर्माण गरेको पोखरा उद्योग वाणिज्य संघले समुदायसँग सहकार्य गर्दै विरुवा हुर्काउने तथा चौतारीको संरक्षण गर्ने भएको छ ।





