पोखरामा सोमबार करिब ४ हजार ग्यास सिलिण्डर वितरण हुने केहीको नाम सहित

-


     पोखरा क्लिक     
     श्रावण २४ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २४ साउन,

पोखरा क्षेत्रमा भोलि (सोमबार) करिब ४ हजार एलपी ग्यास सिलिण्डर वितरण हुने भएको छ । भारतबाट आइतबारसम्म नयाँ ग्यास बुलेट नेपाल भित्रिन नसकेपछि शक्ति, गृहलक्ष्मी, साई बाबा र भानु ग्यासका गरी करिब ४ हजार सिलिण्डर बजारमा बिक्रि वितरण हुने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पोखराक्लिकलाई बताउनुभयो ।

आइतबारको तुलनामा सोमबार ग्यासको आपूर्ति करिब आधा घट्ने भएकाले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न प्रशासनले आग्रह गरेको छ । सोमबार गृहलक्ष्मी ग्यासका करिब २ हजार, शक्ति ग्यासका १ हजार १ सय, साई बाबाका ६ सय र भानु ग्यासका ३ सय सिलिण्डर बिक्रीका लागि बजारमा पठाइने सहायक प्रजिअ बरालले बताउनुभयो । ती सिलिण्डर मुख्य डिपोमा नभई अधिकृत खुद्रा तथा किराना पसलबाट समेत बिक्री गर्ने व्यवस्था मिलाइएको छ ।

उपलब्ध ग्यास सबै उपभोक्तासम्म समान रूपमा पुगोस् र डिपोमा हुने भीड तथा लामो लाइन कम होस् भन्ने उद्देश्यले खुद्रा पसलबाटै वितरणको व्यवस्था गरिएको सहायक प्रजिअ बरालले बताउनुभयो। यसअघि आइतबार पोखरा क्षेत्रमा ८ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री भएको थियो । तर, मागको तुलनामा आपूर्ति कम भएपछि केही दिनयता बजारमा ग्यास अभाव देखिएको छ । उपभोक्ताले नियमित आवश्यकता भन्दा बढी सिलिण्डर खरिद गरेर घरमा मौज्दात राख्ने क्रमले समेत समस्या थपिएको व्यवसायीको भनाइ छ ।

गृहलक्ष्मी ग्यासका सञ्चालक धर्मराज बर्तौलाले आइतबार साँझसम्म भारतबाट ग्यास बोकेको नयाँ बुलेट नेपाल भित्रिन नसकेको बताउनुभयो । भारतबाट थप ग्यास कहिले र कति परिमाणमा आउने भन्ने विषयमा अझै स्पष्ट जानकारी नरहेको उहाँले बताउनुभयो । प्रशासनले बजारमा उपलब्ध ग्यासलाई व्यवस्थित रूपमा वितरण गर्न व्यवसायीलाई निर्देशन दिँदै उपभोक्तालाई पनि आत्तिएर आवश्यकताभन्दा बढी सिलिण्डर खरिद नगर्न आग्रह गरेको छ । आपूर्ति नियमित नभएसम्म ग्यासको माग र वितरणबीच सन्तुलन कायम गर्न खुद्रा पसलमार्फत वितरणलाई प्राथमिकता दिइएको प्रशासनले जनाएको छ । शक्ति ग्यासका मेघराज त्रिपाठीले आइतबार मात्र ७ हजार जसो ग्यास वितरण भए पनि सोमबार त्यसको तुलनमा निकै कम ग्यास वितरण हुने बताउनु भयो । घर घरमा थन्केका सिलिण्डरहरु बजारमा आउदा हाल ग्यास अभाव भएको उहाँले बताउनु भयो । घर घरमा ओभर स्टक भए स्थानियमै समन्वय गर्नुपर्ने बताउदै उहाँले खुद्रा पसलबाटै वितरण गर्नुपर्ने उहाँको भनाई छ ।