विश्वकप हेरेपछि मनमा उब्जिएका केही भावना

-


     पोखरा क्लिक     
     श्रावण ४ गते २०८३ मा प्रकाशित


पोखरा,

मलाई आजैजस्तो लाग्छ, जब म दुई–तीन कक्षामा पढ्थेँ। त्यसबेला मेरो हातमा रहेको सामान्य ज्ञानको किताब पल्टाउँदा दुईवटा नाम बारम्बार देखिन्थे—लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो। त्यतिबेला मेरा लागि फुटबल भनेको किताबको एउटा प्रश्न र त्यसको उत्तर मात्र थियो। म सोच्थेँ, “को होलान् यी मानिसहरू, जसको नाम संसारभरका किताबमा लेखिन्छ?”

म खेलकुदको अत्यन्त ठूलो पारखी त होइन। तर सानैदेखि उनीहरूको नाम सुन्दै आएको भए पनि, यसपटक पहिलो पटक आफ्नै आँखाले विश्वकपको रोमाञ्च, त्यसको वातावरण र फुटबलको वास्तविक सौन्दर्यलाई नजिकबाट महसुस गर्ने अवसर पाएँ। खेल हेर्दै जाँदा मैले बुझेँ—स्कुलको किताबमा पढिएका ती नामहरू केवल खेलाडीका नाम मात्र रहेनछन्; ती त संघर्ष, त्याग, आँसु, अनुशासन र कहिल्यै हार नमान्ने अदम्य इच्छाशक्तिको जीवन्त इतिहास रहेछन्। विश्वकपमा अन्ततः एउटा टोली मात्र विजेता बन्छ। तर मलाई मैदानमा दौडिरहेका हरेक खेलाडीको पसिना, चोट, पीडा, आँसु र उनीहरूको भित्री संघर्षले अझ बढी छोयो। ट्रफी जित्ने एउटा टोली हुन्छ, तर त्यो ट्रफीसम्म पुग्न हजारौँ असफलता, अनगिन्ती त्याग र असंख्य सपना जोडिएका हुन्छन्।

विश्वकप सकिन्छ। रङ्गशालाका बत्तीहरू निभ्छन्। दर्शकको ताली बिस्तारै शान्त हुन्छ। इतिहासको पानामा एउटा राष्ट्रको नाम स्वर्णाक्षरले लेखिन्छ। हामी विजेताको मुस्कान देख्छौँ, उनीहरूले उचालेको सुनौलो ट्रफी देख्छौँ। तर त्यो ट्रफी उचाल्ने हातहरू कति पटक काँपेका थिए? त्यो पदक गलामा झुन्डिनुअघि उनीहरूले कति रात निद्रा त्यागे? कति पटक हारको पीडा सहे? कति पटक आफ्नै क्षमतामाथि प्रश्न उठाए? यी प्रश्नहरूको उत्तर इतिहासका आँकडाभन्दा पनि गहिरा छन्। फुटबल केवल ९० मिनेटको खेल होइन। यो धैर्य, आत्मविश्वास, अनुशासन, आशा र कहिल्यै हार नमान्ने साहसको प्रतिरूप हो।

जब हामी लियोनेल मेस्सीलाई मैदानमा जादू गरिरहेको देख्छौँ, सहजै भनिदिन्छौँ—”उनी त फुटबलका भगवान् हुन्।” तर त्यो उचाइमा पुग्नुअघि उनले बाल्यकालमै वृद्धि हर्मोनको कमी (Growth Hormone Deficiency) जस्तो दुर्लभ स्वास्थ्य समस्या भोग्नुपरेको थियो। करिब ११ वर्षको उमेरमा उनले नियमित रूपमा पीडादायी हर्मोनका सुई लगाउनुपर्थ्यो। आर्थिक कठिनाइका कारण उपचार नै रोकिने अवस्था पनि आएको थियो। त्यसपछि स्पेनको बार्सिलोनाले उनको उपचारको जिम्मेवारी लिएपछि मात्रै उनको प्रतिभाले सही अवसर पायो।

यति मात्र होइन, अर्जेन्टिनाका लागि लगातार प्रमुख फाइनलहरूमा पराजित भएपछि उनले आफ्नै देशबाट तीव्र आलोचना खेप्नुपर्‍यो। सन् २०१६ मा त उनले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा समेत गरेका थिए। तर उनी फेरि उठे। निरन्तर संघर्ष गरे। अन्ततः उनले कोपा अमेरिका र त्यसपछि विश्वकप जितेर इतिहास रचे। यदि उनले त्यतिबेला हार मानेका भए, संसारले एउटा महान् प्रेरणाको कथा गुमाउने थियो। अर्कोतर्फ, क्रिस्टियानो रोनाल्डोको जीवन पनि उत्तिकै प्रेरणादायी छ। साधारण परिवारमा जन्मिएका उनले बाल्यकालदेखि नै अभावसँग लड्नुपर्‍यो। १५ वर्षको उमेरमा मुटुको असामान्य धड्कन (Tachycardia) का कारण शल्यक्रिया गर्नुपर्दा उनको फुटबल यात्रा त्यहीँ अन्त्य हुने डर थियो। तर केही दिनमै उनी फेरि मैदानमा फर्किए।

उनले आफ्नो सम्पूर्ण करियरभरि एउटा कुरा प्रमाणित गरे—प्रतिभाभन्दा ठूलो शक्ति अनुशासन र निरन्तर मिहिनेत हो। आज पनि, दशकौँ लामो करियरपछि, आलोचना, उमेर र असंख्य दबाबका बीच उनी हरेक दिन आफूलाई अझ उत्कृष्ट बनाउन अभ्यास गरिरहेका छन्। उनको सबैभन्दा ठूलो प्रतिस्पर्धी अरू कोही होइन, हिजोका उनी स्वयं हुन्। विश्वकप खेल्ने हरेक खेलाडीको आफ्नै एउटा नबोलिएको कथा हुन्छ। कोही बाल्यकालमै परिवार छोडेर प्रशिक्षण केन्द्रमा बसेका हुन्छन्। कोही गम्भीर चोटपछि महिनौँ पुनर्स्थापनामा बिताएर फर्किएका हुन्छन्। कोही गरिबी, असफलता, आलोचना र मानसिक दबाबसँग लड्दै यहाँसम्म आइपुगेका हुन्छन्। मैदानमा देखिने एउटा गोल, एउटा बचाउ वा एउटा जितको पछाडि वर्षौँको त्याग लुकेको हुन्छ। त्यसैले मलाई लाग्यो—हाम्रो जीवन पनि एउटा विश्वकपजस्तै रहेछ। हामी पनि हरेक दिन आफ्नै मैदानमा संघर्ष गरिरहेका छौँ। कहिलेकाहीँ लाग्छ, अब सबै सकियो। हाम्रो मिहिनेत कसैले देख्दैन। हाम्रो आँसुको कुनै मूल्य छैन। तर यिनै खेलाडीहरूको जीवनले एउटा गहिरो सत्य सिकाउँछ—तिमी कति पटक लड्यौ भन्ने होइन, तिमी हरेक पटक लडेर फेरि उठ्न सकेनौ कि सकेउ भन्ने कुराले तिम्रो भविष्य निर्धारण गर्छ।

सफलता कहिल्यै सजिलै प्राप्त हुँदैन। यदि सजिलै पाइन्थ्यो भने त्यसको मूल्य पनि हुने थिएन। जब जीवनले घुँडा टेक्न बाध्य पार्छ, जब आलोचना, असफलता र निराशाले चारैतिरबाट घेर्छ, तब मेस्सीको धैर्य र रोनाल्डोको अनुशासन सम्झिनु। उनीहरूले संसारलाई सिकाएका छन्—प्रतिभाले यात्रा सुरु गराउँछ, तर चरित्र, मिहिनेत र निरन्तरताले इतिहास बनाउँछ। विजेता त्यो होइन, जसले कहिल्यै हार बेहोरेन। विजेता त त्यो हो, जसले हारका बीच पनि आशा मर्न दिएन। जसका आँखामा आँसु थिए, मुटुमा पीडा थियो, पाइला थाकेका थिए, तर आत्माले भनिरह्यो—”अझै एक पटक प्रयास गर्छु। म यत्तिकै हार मान्ने छैन।” विश्वकपले अन्ततः एउटा राष्ट्रलाई ट्रफी दिन्छ। तर त्यसले संसारभरका करोडौँ मानिसलाई एउटा अमूल्य सन्देश पनि दिन्छ—संघर्ष जति गहिरो हुन्छ, सफलताको कथा त्यति नै उज्यालो, प्रेरणादायी र स्मरणीय बन्छ।

लेखकः ममता भूजेल\पोखरा