विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट (भिडियो)

-


     पोखरा क्लिक     
     असार २९ गते २०८३ मा प्रकाशित


पोखरा, २९ असार,

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा पोखरामा प्रभातफेरी, सम्मान तथा विविध साहित्यिक कार्यक्रमका साथ भव्य रूपमा भानुजयन्ती मनाइएको छ। भानु वाङ्मय प्रतिष्ठान, पोखराको आयोजना तथा भानुमार्ग टोल विकास संस्था र भानुमार्ग (क) आमा समूहको सहआयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमार्फत् विश्वभरका नेपालीलाई एउटै सांस्कृतिक सूत्रमा जोड्ने ऐतिहासिक भूमिका खेलेको बताउनुभयो।

उहाँले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल र जनबोलीको नेपाली भाषामा अनुवाद गरेर भानुभक्तले साहित्यलाई जनजीवनसँग जोडेको उल्लेख गर्दै नेपाली भाषालाई साझा सांस्कृतिक पहिचानका रूपमा स्थापित गर्न उहाँको योगदान अतुलनीय रहेको धारणा राख्नुभयो। भानुभक्तका कृतिमा धार्मिक भावना मात्र नभई नैतिकता, मानवता, सामाजिक उत्तरदायित्व, कर्तव्यबोध र लोककल्याणको गहिरो सन्देश समेटिएको उहाँको भनाइ थियो। प्रदेश प्रमुख भट्टले आजको पुस्ताले भानुभक्तलाई पाठ्यपुस्तकभित्र सीमित नराखी डिजिटल माध्यम, अनुसन्धान, अध्ययन, साहित्यिक विमर्श तथा सिर्जनात्मक अभ्यासमार्फत भावी पुस्तासम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउनुभयो। गण्डकी प्रदेश भाषा, साहित्य, कला र संस्कृतिको दृष्टिले समृद्ध रहेको उल्लेख गर्दै उहाँले साहित्यिक संस्था, अनुसन्धान केन्द्र तथा स्रष्टाहरूको योगदानको प्रशंसा गर्नुभयो।

भानुभक्तको ‘घाँसी’ प्रसङ्गबाट प्रेरित भएको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले आफूले प्रत्येक वर्ष आफ्नो बचतको २५ प्रतिशत सामाजिक कार्यमा सहयोग गर्दै आएको जानकारी दिनुभयो। सोही अवसरमा उहाँले भानु वाङ्मय प्रतिष्ठानलाई २० हजार १०५ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभयो। कार्यक्रममा नेपाली विषयमा उत्कृष्ट नतिजा हासिल गरेकी विद्यार्थी जमुना कुमारी रिमाललाई ‘भानु वाङ्मय शिक्षा पुरस्कार’ अन्तर्गत १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो। त्यसैगरी नेपाली विषय अध्यापन गराउने कास्कीका माध्यमिक तहका शिक्षक टेकनाथ पोखरेल ९पीडित० लाई १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको प्रतिष्ठानका सचिव अम्बिकाप्रसाद भट्टराईले जानकारी दिनुभयो।

समारोहमा गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सूर्य खड्का ‘विखर्ची’, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ९बाबा०, पूर्व जनप्रतिनिधि निर्मल कर्माचार्य, अग्रज साहित्यकार पद्मराज ढकाललगायत वक्ताहरूले भानुभक्त आचार्यको साहित्यिक योगदान, नेपाली भाषाको विकासमा उहाँको भूमिका तथा उहाँका कृतिको समसामयिक महत्वबारे विचार व्यक्त गर्नुभएको थियो। भानु वाङ्मय प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हाजिफ अलिमियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यप्रेमी, शिक्षक, विद्यार्थी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।