हितान मगर र गुरुङ कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट सम्मानित

-


     पोखरा क्लिक     
     असार २९ गते २०८३ मा प्रकाशित


पोखरा, असार २९ ,

पत्रकार रुद्रबहादुर हितानमगर र इन्दिरा गुरुङ कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले स्थापना गरेको कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार अन्तर्गत हितानमगरलाई २०८२ सालको तथा गुरुङलाई २०८३ सालको पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी र पुरस्कारदाता कर्म गुरुङले भांग्रा, घलेक, सम्मानपत्र तथा जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गर्नुभयो । सो अवसरमा बोल्दै प्रेस रजिस्ट्रार भण्डारीले पत्रकारिता क्षेत्रमा समर्पित व्यक्तित्वको सम्मानले नयाँ पुस्ताका पत्रकारलाई व्यावसायिक, जिम्मेवार र सिर्जनशील पत्रकारितातर्फ प्रेरित गर्ने बताउनुभयो । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उहाँका श्रीमान कर्ण गुरुङको वैवाहिक वर्षगाँठको अवसरमा स्थापना गरिएको उक्त पुरस्कार आदिवासी जनजाति पत्रकारितामा योगदान पु¥याउने सञ्चारकर्मीलाई वार्षिक रूपमा प्रदान गरिँदै आएको हो । पुरस्कारदाता कर्म गुरुङले पत्रकारिताको क्षेत्रलाई नजिकबाट नियालिरहेको बताउँदै यो सम्मानले आदिवासी जनजातिका आवाजलाई बुलंद बनाउन थप जिम्मेवारबोध गराउने विश्वास लिएको बताउनुभयोे ।

तमु धिं नेपालका अध्यक्ष एवं फोनिज कास्कीका सल्लाहकार हुम गुरुङले सम्मानलाई संस्थागत गर्न उचित हुने भन्दै समावेशी पत्रकारिता आजको आवश्यकता रहेको बताउनुभयो । समारोहमा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिका बिषयलाई समाजमा उजागर गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । पुरस्कार छनोट समितिका संयोजक दिपेन्द्र श्रेष्ठले ४० दशक बढी पत्रकारिता गर्दै आउनुभएका पत्रकार हितानमगर पत्रकारिता क्षेत्रमा नै प्रेरणाको श्रोत रहनुभएको बताउनुहुदै भाषामा पत्रकारितामा गुरुङको लगनशीलता उत्कृष्ट रहेको बताउनुभयो । २०८२ सालका पुरस्कृत हितानमगरले यो सम्मानबाट अझै पत्रकारिता गर्ने जोश आएको बताउनुभयो । उहाँले आदिवासी जनजातिको छाता संस्था स्थापनामा गरिएको संघर्षको स्मरण गर्दै पत्रकारिता निष्पक्ष, स्वतन्त्र र भयमुक्त हुन आवश्यक रहेको बताउनुभयो । २०४१ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँले काठमाडौँबाट प्रकाशित परिस्थिति साप्ताहिकबाट पत्रकारिता यात्रा सुरु गर्नुभएको थियो । त्यसपछि अवलोक, पोखरा साप्ताहिक, जनधारणा साप्ताहिक र आदर्श समाज दैनिकमा कार्यरत रहनुभएका उहाँ हाल फेवा पोस्ट साप्ताहिकमा आबद्ध हुनुहुन्छ। हितानमगर तत्कालीन आदिवासी जनजाति पत्रकार संघ (अनिज) का संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।

यसैगरी, २०८३ सालकी पुरस्कृत गुरुङले भाषा पत्रकारितालाई जिवन्त राख्न सधै अग्रसर रहने बताउनुभयो । २०५४ सालदेखि रेडियो नेपालमा आबद्ध रहँदै आदिवासी जनजाति समुदायका मुद्दा, भाषा, संस्कृति तथा समसामयिक विषयमा पत्रकारितामार्फत निरन्तर योगदान दिँदै आउनुभएको छ । छनोट समितिमा फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङ र फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीषमगर सदस्य रहनुभएको थियो । फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाको अध्यक्षतामा सम्पन्न सो कर्म–कर्ण पुरस्कारबाट यसअघि रिता गुरुङ, तिलक पुन, हर्क आले मगर, राज बहादुर गुरुङ, शान्ति गुरुङ, एमबि आस्था मगर, हुम बहादुर गुरुङ, उदय बहादुर अमात्य, रुद्र श्रीष मगर, दिपेन्द्र श्रेष्ठ र खेम सारु मगर सम्मानित भैसक्नुभएको छ । समारोहमा राष्ट्रिय कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३ बाट सम्मानित मिना थापामगर, पोखरा महानगरपालिकाको युवा उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित दुर्गा रानामगर र पोखरामा संचालन भएको ११ औँ राष्ट्रिय हप्किडो च्याम्पियन मेग्मा गुरुङलाई खादा लगाएर सम्मान गरिनुका साथै तमु विद्यार्थी समिति कास्कीका अध्यक्ष सतिश गुरुङको कार्यसमितिले कर्म गुरुङलाई सम्मान समेत गर्नुभएको थियो ।