
Screenshot
पोखरा,
फिफा विश्वकप २०२६ अब निर्णायक मोडमा पुगेको छ। क्वार्टरफाइनलका सबै खेल सम्पन्न भएसँगै उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम चार टोलीको टुंगो लागेको छ। साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन र इङ्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गर्दै विश्व फुटबलका चार शक्तिशाली राष्ट्रबीचको रोमाञ्चक प्रतिस्पर्धा तय भएको हो ।
अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गर्यो । निर्धारित समयसम्म बराबरीमा रहेको खेलमा अतिरिक्त समयमा अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्दै जित आफ्नो पक्षमा पारेको थियो। त्यसअघि इङ्ल्यान्डले पनि संघर्षपूर्ण खेलमा नर्वेमाथि २–१ को पुनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको थियो। एक गोलले पछि परेको अवस्थामा इङ्ल्यान्डले खेलमा फर्किँदै अतिरिक्त समयमा निर्णायक गोल गरेको हो ।
यसअघि फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो विश्वकप सेमिफाइनल यात्रा तय गरेको थियो भने स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै सन् २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ। यसपटकको सेमिफाइनलको अर्को विशेषता भनेको फिफा वरीयताका शीर्ष चार राष्ट्र नै अन्तिम चारमा पुग्नु हो। अर्जेन्टिना, स्पेन, फ्रान्स र इङ्ल्यान्डले आफ्नो वरीयतालाई प्रदर्शनमार्फत पनि पुष्टि गरेका छन् । साथै, चारै टोली यसअघि विश्वकप जितिसकेका राष्ट्र भएकाले यस संस्करणमा नयाँ विश्व विजेता जन्मिने सम्भावना समाप्त भएको छ ।
अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन आमनेसामने हुनेछन् । दुवै टोली उत्कृष्ट लयमा रहेकाले यो खेल उच्चस्तरीय प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। अर्को सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र इङ्ल्यान्डबीच रोमाञ्चक भिडन्त हुनेछ। लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनालाई इङ्ल्यान्डले कडा चुनौती दिने अनुमान गरिएको छ। अब सबैको नजर सेमिफाइनलतर्फ केन्द्रित भएको छ। यी दुई खेलले विश्व फुटबलको नयाँ फाइनलिस्ट तय गर्नेछन् भने अन्ततः जुलाई १९ मा हुने फाइनलमा विश्वकपको नयाँ वा पुनः स्थापित च्याम्पियनको टुंगो लाग्नेछ ।







