एकीकृत तामाङ घेदुङ यूकेमा आबद्ध हुने ऐतिहासिक निर्णय गर्दै ल्हा म्हेन्दो तामाङ समाज लण्डनको समर भेला सम्पन्न

-


     पोखरा क्लिक     
     असार २१ गते २०८३ मा प्रकाशित


लण्डन, बेलायत,

ल्हा म्हेन्दो तामाङ समाज लण्डनको वार्षिक समर भेला एकीकृत तामाङ समुदाय निर्माणको ऐतिहासिक निर्णयसहित सम्पन्न भएको छ। भेलाले ल्हा म्हेन्दो तामाङ समाजलाई आधिकारिक रूपमा एकीकृत तामाङ घेदुङ यूकेको केन्द्रीय समितिअन्तर्गतको शाखाका रूपमा आबद्ध हुने निर्णय गरेको छ।

समाजका अध्यक्ष आइतसिंह मम्बा तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लण्डन बरो अफ हाउन्स्लोका पूर्व मेयर विष्णुबहादुर गुरुङ प्रमुख अतिथि तथा नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष कुमबहादुर तामाङ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँहरूले शुभकामना मन्तव्यका क्रममा ल्हा म्हेन्दो तामाङ समाज आकारमा सानो भए पनि बेलायतस्थित तामाङ समुदायको भाषा, संस्कृति, परम्परा, पहिचान र संस्थागत एकताको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताउनुभयो। एकीकृत तामाङ अभियानमा समाजले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै उहाँहरूले आगामी दिनमा पनि यही एकतालाई अझ सुदृढ बनाउन आग्रह गर्नुभयो।

भेलाले सर्वसम्मत रूपमा नयाँ नौ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा विशाल स्याङ्बो तामाङ, उपाध्यक्षमा सुमन वाइबा, महासचिवमा सुदीप लोप्चन, सचिवमा सूरज स्याङ्बो र सूरज ग्लान, कोषाध्यक्षमा बिपना पुन तामाङ तथा सदस्यहरूमा हरि नेगी, विशाल योञ्जन र सुसा पन्नाचन तामाङ चयन हुनुभएको छ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा एकीकृत तामाङ घेदुङ यूकेसम्बन्धी विशेष छलफल तथा लघु जनमत सङ्ग्रह ९मिनी रेफरेन्डम० सम्पन्न गरिएको थियो। मतदानमा सहभागी सदस्यहरूको स्पष्ट बहुमतले एकीकृत तामाङ घेदुङ यूकेमा आबद्ध हुने पक्षमा मत दिएपछि समाजले औपचारिक रूपमा उक्त निर्णय गरेको हो। यसलाई बेलायतस्थित तामाङ समुदायको संस्थागत एकता सुदृढ गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

जनमत सङ्ग्रहअघि समाजका पूर्वअध्यक्ष सूरज थोकरले पावरपोइन्टमार्फत एकीकृत तामाङ अभियानको पृष्ठभूमि, आवश्यकता र भावी कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा कलाकार शिवदास गुरुङले सांस्कृतिक प्रस्तुति दिएर मनोरञ्जन प्रदान गर्नुभयो। साथै राफल ड्र, बिङ्गोलगायत विविध कार्यक्रमले सहभागीहरूको उत्साह थप बढाएको थियो। उल्लेखनीय सहभागिताका साथ सम्पन्न समर भेलाले तामाङ समुदायबीचको आपसी सद्भाव, सहकार्य र संस्थागत एकतालाई अझ मजबुत बनाएको आयोजकले जनाएको छ।