
पोखरा, २१ असार,
सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई पितृ शोक परेको छ । उहाँका बाबु एकप्रसाद थापा मगरको ८१ वर्षको उमेरमा आइतबार बिहान उपचारकै क्रममा हस्पतालमा निधन भएको उहाँको पारीवारिक श्रोतले जनाएको छ ।
पोखरा महानगरपालिका–९, बसपार्क निवासी थापा मगरको पोखरा–१५ स्थित हरियोखर्क अस्पतालमा उपचारका क्रममा बिहान करिब ७ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँ केही समयदेखि विभिन्न रोगबाट प्रभावित भई उपचाररत हुनुहुन्थ्यो। वि.सं.२००२ असार २७ गते कास्कीको हालको रुपा गाउँपालिका–६, मोहरियामा जन्मनुभएका स्वर्गीय थापा मगरका श्रीमती, एक छोरा तथा तीन छोरी छन्। उहाँका छोरा केशवबहादुर थापा सहारा क्लब पोखराका अध्यक्ष हुनुहुन्छ।
स्वर्गीय थापा मगरको आइतबार नै दाहसंस्कार गरिएको सहारा क्लब पोखराले जनाएको छ। उहाँको निधनप्रति सहारा क्लब पोखरासहित स्वदेश तथा विदेशमा रहेका सहारा परिवारले गहिरो दुःख व्यक्त गरेका छन्। सहारा युकेका अध्यक्ष शारदा गुरुङ, सहारा हङकङका अध्यक्ष सरोज गुरुङ, सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेल तथा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले संयुक्त रूपमा जारी गरिएको शोक सन्देशमा स्वर्गीय थापा मगरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
शोक सन्देशमा स्वर्गीय थापा मगरको निधनले सहारा परिवारलाई मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ। साथै शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि गरिएको छ। स्वर्गीय थापा मगर सामाजिक, पारिवारिक तथा अनुशासित जीवनशैलीका कारण आफन्त र समाजमा सम्मानित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको निधनले परिवारसँगै शुभेच्छुक र सहारा क्लबसँग आबद्ध सम्पूर्ण सदस्यलाई अपूरणीय क्षति पुगेको जनाइएको छ।







