पितृस्मृतिमा सात लाखको ‘आमा चौतारी’ सत्तल निर्माण, सामाजिक सेवामा गुरुङ परिवारको उदाहरणीय योगदान

-


     पोखरा क्लिक     
     असार २१ गते २०८३ मा प्रकाशित


पोखरा, २१ असार,

पोखराको ऐतिहासिक तथा धार्मिकस्थल श्री गणेश तथा भद्रकाली मन्दिर परिसरमा पितृस्मृतिमा सात लाख रुपैयाँको लागतमा ‘आमा चौतारी’ पाटी–सत्तल निर्माण गरिएको छ । मन्दिर सेवा समितिको गुरुयोजनाअन्तर्गत भक्तजन, ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई विश्राम गर्ने सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको कलात्मक सत्तल गुरुङ परिवारले आफ्ना दिवंगत माता–पिता तथा सासू–ससुरा स्वर्गीय पतिराम गुरुङ र काली गुरुङको स्मृतिमा निर्माण गराएका हुन्।

साविक कास्कीको पुरानोगाउँ–वारचोक तथा हाल पोखरा–१२ लालीगुराँस टोल निवासी ईश्वरबहादुर गुरुङ–बत्तीमाया गुरुङ, ग्रान्ड मास्टर तुलसीकुमार गुरुङ–गंगा गुरुङ, सीआई दीपेन्द्रकुमार गुरुङ–जुनु गुरुङ, मास्टर राजेन्द्रकुमार गुरुङ–अनिता गुरुङ तथा छोरी–ज्वाइँ जसमाया गुरुङ–जगमान गुरुङ, ज्योतिकुमारी गुरुङ–रुद्रबहादुर गुरुङ र खासमाया गुरुङ–प्रकाश गुरुङ परिवारले संयुक्त रूपमा सात लाख रुपैयाँ सहयोग गरेका हुन्। सहयोग रकम मन्दिर सेवा समितिका अध्यक्ष योगेन्द्रमान श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो। सोही अवसरमा मन्दिर परिसरमा बर र पिपलका बिरुवा समेत रोपिएको छ। कार्यक्रममा दाताका तर्फबाट जगमान गुरुङले पितृस्मृतिलाई समाजोपयोगी कार्यसँग जोड्ने अवसर प्रदान गरेकोमा मन्दिर सेवा समितिप्रति आभार व्यक्त गर्नुभयो। रुद्रबहादुर गुरुङले निर्माण गरिएको सत्तलको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।

मन्दिर सेवा समितिका अध्यक्ष योगेन्द्रमान श्रेष्ठले मन्दिरको गुरुयोजनाअन्तर्गत भक्तजनलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सत्तल निर्माण गरिएको जानकारी दिँदै दाता परिवारको सामाजिक तथा धार्मिक योगदान अनुकरणीय रहेको बताउनुभयो। उहाँले स्वर्गीय पतिराम गुरुङ र काली गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै काली माताको आशीर्वादले दाता परिवारमा सधैँ सुख, शान्ति र समृद्धि कायम रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य तथा मन्दिर सेवा समितिका आजीवन सदस्य शिवकुमार नेपाली, उपाध्यक्ष गमबहादुर गुरुङ, कोषाध्यक्ष वीरबहादुर थापा, सहसचिव दीपेन्द्रराज बस्ताकोटी, सदस्य धर्मराज अल्पायू, अधिराजकुमार कार्की, पूर्वसचिव शिव पराजुली, व्यवसायी किर्तेन्द्र सिग्देललगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन समितिका सचिव राजेन्द्र भण्डारीले गर्नुभएको थियो। मन्दिर परिसरमा निर्माण गरिएको ‘आमा चौतारी’ले भक्तजन तथा पर्यटकलाई विश्रामस्थल उपलब्ध गराउनुका साथै पितृस्मृतिलाई समाजोपयोगी कार्यसँग जोड्ने संस्कृतिको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्। समाजमा बढ्दो भौतिकवादका बीच आफ्ना पूर्वजको सम्झनालाई सार्वजनिक हितसँग जोडेर गरिएको यस्तो योगदानले सामाजिक उत्तरदायित्व र परोपकारको भावनालाई थप प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।