
पोखरा,
स्टेप वाई स्टेप माध्यमिक विद्यालय, मस्वार, पोखराले विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययनका लागि भर्ना भएका कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई विशेष स्वागत कार्यक्रममार्फत औपचारिक रूपमा स्वागत गरेको छ। कार्यक्रममा शैक्षिक उत्कृष्टता, अनुशासन र सर्वाङ्गीण विकासलाई विद्यालयको प्रमुख प्राथमिकता रहेको सन्देश दिइएको थियो।
सोही अवसरमा २०८२ सालको एसईई परीक्षामा ४.० जीपीए हासिल गरी विद्यालयको गौरव बढाउन सफल प्रतिभाशाली विद्यार्थी विल्सन न्यौपानेलाई नगद रु. ५० हजार सहित सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राममोहन आचार्यले अभिभावक, विद्यालय र विद्यार्थीबीचको सुदृढ तथा सकारात्मक सहकार्यले मात्रै विद्यार्थीको भविष्य उज्ज्वल बनाउन सकिने बताउनुभयो। विद्यालयले उत्कृष्ट शैक्षिक नतिजासँगै अतिरिक्त क्रियाकलापमा समेत उल्लेखनीय सफलता हासिल गर्दै विभिन्न पुरस्कार जित्न सफल भएकोमा विद्यालय परिवारलाई बधाई दिँदै उहाँले आगामी दिनमा अझ उत्कृष्ट उपलब्धिको शुभकामना व्यक्त गर्नुभयो।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका विद्यालय निरीक्षक रामप्रसाद तिवारीले शिक्षा अथाह सागर भएकाले विद्यार्थीले जति लगनशीलता, अनुशासन र मेहनतका साथ अध्ययन गर्छन्, त्यति नै ज्ञान हासिल गर्न सक्ने धारणा राख्नुभयो। उत्कृष्ट नतिजाका लागि विद्यालयको प्रयाससँगै विद्यार्थी स्वयं पनि उत्तिकै जिम्मेवार, मेहनती र लक्ष्यप्रति प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ थियो। विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले यस विद्यालयबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थी आज देश तथा विदेशका विभिन्न प्रतिष्ठित क्षेत्रमा रहेर राष्ट्र र समाजको सेवामा समर्पित रहेको उल्लेख गर्नुभयो। उहाँले वर्तमानका विद्यार्थी नै भविष्यका राष्ट्रनिर्माता भएकाले ज्ञान, अनुशासन, नैतिकता र सकारात्मक सोचलाई जीवनको आधार बनाउन आग्रह गर्नुभयो।
विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विद्यालयले विद्यार्थीको शैक्षिक, नैतिक तथा सर्वाङ्गीण विकासका लागि गुणस्तरीय शिक्षासँगै आवश्यक सबै अवसर उपलब्ध गराउँदै आएको बताउँदै आगामी दिनमा पनि कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहप्राचार्य दीपक गिरीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि राममोहन आचार्यले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा कलाकार क्षितिज विक्रम हमालको सुमधुर सांगीतिक प्रस्तुतिले सहभागीलाई मनोरञ्जन प्रदान गरेको थियो भने कक्षा १२ का विद्यार्थीहरूले प्रस्तुत गरेका आकर्षक नृत्य तथा गीतहरूले कार्यक्रमलाई थप उल्लासमय र स्मरणीय बनाएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक निर्देशक रमाकान्त बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य सहप्राचार्य दीपक गिरीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन विद्यालय संयोजक सूर्यप्रसाद लम्सालले गर्नुभएको थियो।






