
पोखरा,
चितवनमा आगामी असार ७, ८ र ९ गते आयोजना हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको तयारी तीव्र भइरहेको छ। महाधिवेशनमार्फत नेतृत्व चयन, संगठन विस्तार र आगामी राजनीतिक दिशा तय गर्ने लक्ष्य राखिएको पार्टीले जनाएको छ।
महाधिवेशनको उद्घाटन भरतपुरको गेस्टहाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ । देशभरबाट करिब २ हजार ५ सय प्रतिनिधि सहभागी हुने तयारी गरिएको श्रोतले जनाएको छ । यसैबीच, कास्कीका सांसद उत्तम पौडेल रास्वपाको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। पत्रकारिताबाट राजनीति प्रवेश गरेका पौडेलले लामो समय सञ्चार क्षेत्रमा काम गरेका थिए। उनले न्युज २४ र ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा पार्टी सभापति रवि लामिछाने सँग सहकार्य गरेका थिए ।
पौडेलले आफूलाई पार्टीको “कर्मठ योद्धा” का रूपमा प्रस्तुत गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण र जनसेवामा केन्द्रित रहने बताएका छन्। उनले राज्यका ढिलासुस्ती र नीतिगत अव्यवस्था विरुद्ध खरो रूपमा उत्रिने प्रतिबद्धता व्यक्त गरेका छन्। रास्वपाले महाधिवेशनका लागि संगठनात्मक संरचना अन्तर्गत केन्द्रीय समिति, विभिन्न उपसमिति र प्रतिनिधि व्यवस्थापन प्रक्रिया अघि बढाएको छ। महाधिवेशनलाई व्यवस्थित बनाउन मौजुदा केन्द्रीय समितिलाई नै आयोजक समितिमा रूपान्तरण गरिएको छ।
महाधिवेशनमा नेतृत्व चयनका विषयमा प्रतिस्पर्धा हुने वा सर्वसम्मति हुने भन्ने विषयमा चासो बढेको छ। राजनीतिक वृत्तमा पार्टी नेतृत्वमा फेरबदलको सम्भावना र आगामी रणनीतिबारे विभिन्न अड्कलबाजी पनि भइरहेका छन्। यस क्रममा प्रधानमन्त्री बालेन्द्र शाह को नामसमेत चर्चामा आउने गरेको भए पनि औपचारिक रूपमा कुनै निर्णय भएको छैन। पार्टी स्थापनाको चार वर्ष पूरा हुन लाग्दा हुने यो महाधिवेशनलाई रास्वपाले संगठन सुदृढीकरण र राजनीतिक धार स्पष्ट गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। महाधिवेशनमार्फत पार्टीको नीति, नेतृत्व संरचना र आगामी राजनीतिक कार्यदिशा स्पष्ट हुने अपेक्षा गरिएको छ।





