
पोखरा,
पछिल्लो समय विशेषगरी भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेपछि पोखरामा पार्किङ, धार्मिक पर्यटकका लागि विश्राम गृह (रेस्ट हाउस) तथा पर्यटन सूचना केन्द्र स्थापना गर्न सुझाव दिइएको छ । पोखराको पर्यटन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन सरोकारवालाबीच हालै भएको छलफल कार्यक्रममा पोखराका पर्यटन व्यवसायी र विभिन्न संघ संस्थाले पोखरामा पार्किङ, धार्मिक पर्यटकका लागि विश्राम गृह (रेस्ट हाउस) तथा पर्यटन सूचना केन्द्र स्थापना गर्न सुझाव दिएका हुन् ।

गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको आयोजनामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, सुरक्षा निकाय तथा पर्यटन व्यवसायीहरूको सहभागितामा ट्राफिक व्यवस्थापन, पार्किङ, सुरक्षा, सूचना प्रवाह र सेवा सुधारका विषयमा केन्द्रित छलफलमा लेकसाइड, ड्यामसाइड र पृथ्वीचोक क्षेत्रको पार्किङ व्यवस्थापन सुधार, निजी क्षेत्रसँग समन्वय गरी पार्किङ स्थल विस्तार, धार्मिक पर्यटकका लागि विश्राम गृह (रेस्ट हाउस) निर्माण, तथा पर्यटन सूचना केन्द्र स्थापना गर्ने विषयमा सरोकारवालाहरुलाई ध्यानाकर्षण गरिएको हो । छलफलमा पर्यटकको बढ्दो चापसँगै देखिन थालेका चुनौतीहरू—विशेषगरी ट्राफिक जाम, पार्किङ अभाव, सुरक्षा व्यवस्थापन र सेवा प्रवाहका कमजोरी—लाई समाधान गर्न समन्वयात्मक कार्ययोजना आवश्यक रहेको निष्कर्ष निकालिएको छ। सहभागीहरूले पोखरालाई पर्यटकमैत्री, सुरक्षित र प्रविधिमैत्री गन्तव्यका रूपमा विकास गर्न तत्काल र दीर्घकालीन कदम चाल्नुपर्नेमा जोड दिएका छन्।
उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले छलफलमा आएका सुझावका आधारमा कार्ययोजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँका अनुसार पर्यटन व्यवस्थापन सुधार, आतिथ्यता सेवा विस्तार, आधुनिक ट्राफिक प्रणाली र पर्यटक सुरक्षालाई प्राथमिकतामा राखिनेछ।गण्डकी प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द काफ्लेले लेकसाइड र ड्यामसाइड क्षेत्रमा सीसीटीभी र फेस रिकग्निसन प्रणाली तत्काल जडान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। यसले सुरक्षा निगरानी र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उहाँको भनाइ छ। त्यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले पर्यटकका लागि सूचना केन्द्र, सहायता कक्ष, रुट परमिट तथा प्रज्ञापनपत्रको प्रभावकारी अनुगमन, र आपत्कालीन सेवा विस्तारमा जोड दिनुभयो। उहाँले सामाजिक सञ्जालमा फैलिने नकारात्मक सामग्री नियन्त्रण गर्दै सकारात्मक प्रचारप्रसार आवश्यक रहेको उल्लेख गर्नुभयो।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आतिथ्यतालाई उजागर गर्ने प्रचार सामग्री उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा पोखरा पर्यटन परिषद्, होटल संघ पोखरा, विभिन्न व्यवसायिक समिति तथा पर्यटन क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो। छलफलले पर्यटन व्यवस्थापन, ट्राफिक सुधार, पार्किङ सुविधा विस्तार, सुरक्षा प्रवर्द्धन तथा पर्यटकमैत्री वातावरण निर्माणका लागि सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य अझ मजबुत बनाउने निष्कर्ष निकालेको छ। दीर्घकालीन रूपमा पूर्वाधार विकास, डिजिटल प्रविधिको विस्तार र समन्वयात्मक व्यवस्थापनमार्फत पोखरालाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराई, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष बच्चुराम तिवारी, पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेल, होटल संघ पोखराका कोषाध्यक्ष नेत्र पौडेल, होटल प्रतिनिधि समाजका अध्यक्ष माधव लम्साल, पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष मोती श्रेष्ठ लगायत पर्यटन क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।





