फेवातालमा डुंगा पल्टिँदा दुई भारतीय पर्यटकको सशस्त्र प्रहरीद्वारा उद्धार

-


     पोखरा क्लिक     
     असार २ गते २०८३ मा प्रकाशित


पोखरा, २ असार,

पोखराको पर्यटकीय स्थल फेवातालमा आज (मंगलबार) अचानक आएको हावाहुरी र पानीको छालका कारण डुंगा पल्टिँदा डुबेका दुई जना भारतीय पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । मंगलबार साझ ६ः१५ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडस्थित फेवातालमा अचानक आएको हावाहुरी र छालका कारण दुईवटा सर्फेस डुंगा पल्टिना पुग्दा तालमा अलपत्र परेका पर्यटकहरूलाई फेवा वाच एण्ड रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरीको टोलीले तत्कालै सकुशल उद्धार गरेको स्थानियले पोखराक्लिकलाई जनाउनु भयो ।

सशस्त्र प्रहरी बल नं. २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक राजु थापाको कमाण्डमा खटिएको १० जनाको विपद् व्यवस्थापन टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको थियो । सकुशल उद्धार गरिएका पर्यटकहरूमा भारत घर भई नेपाल घुम्न आउनु भएको ४० वर्षीय धीरज कोरवाल र ३५ वर्षीय विकास कोरवाल रहनु भएको छ । समयमै सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका कारण एउटा ठूलो दुर्घटना हुनबाट जोगिएको प्रहरीले जनाएको छ । साँझ पख अझै केही समय हावा हुरी आउन सक्ने भएकोले पूर्व सावधानि अपनाउन आग्रह गरिएको छ । फेवातालमा अनिवार्य लाईफ ज्याजेक गरिएका कारण पटक पटक दुर्घटना हुँदा पछिल्लो समयमा पर्यटकहरुलाई शसस्त्र प्रहरीको टोली उद्धार गरेको फेवा डुंगा व्यवसायी संठनका अध्यक्ष वलराम गिरीले बताउनु भयो ।