
दीननाथ बराल,
पोखरा, २, असार
पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा यस बर्ष आउँदो असार १४ गते २१ औँ संस्करणको असारे रोपाइँ महोत्सव २०८३ हुने भएको छ । कृषि, पर्यटन र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित यस बर्ष पोखरा ३० को शिशुवा चोक मोहरियाबीच रहेको देउराली खोलाको खेतमा महोत्सव आयोजना हुने तयारी गरिएको परिषदका महासचिव जीवनराज सापकोटाले पोखराक्लिकलाई बताए ।
यस बर्ष असार १५ गते पुर्णिमा व्रत अर्थात गोरु नचल्ने दिन परेका कारण परम्परागत रुपमा मनाइदै आएको असारे रापाई महोत्सव एक दिन अघि असार १४ गते आइतबार आयोजना हुने भएको उनले जनाए । महोत्सवमा परम्परागत धान रोपाइँ, स्थानीय संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति, कृषि परिकार प्रदर्शनी तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिनेछ भने हिलोमा हुने भलिबल, हिले दौड, पत्रकार हिले दौड तथा रस्साकसी प्रतियोगिता समेत महोत्सवका मुख्य आकर्षण रहने भएको परिषदले जनाएको छ । महोत्सवमा करिब १० हजार आन्तरिक तथा बाह्य पर्यटक सहभागी गराउने लक्ष्य राखिएको परिषदका अध्यक्ष तारानाथ पहारीले बताए ।
यसैबिच, परिषद र वडास्तरीय कृषि सञ्जाल, पोखरा–३० बीच महोत्सव आयोजना तथा सञ्चालनसम्बन्धी सम्झौता भएपछि महोत्सवको तयारी तीव्र पारिएको परिषदले जनाए । सम्झौतापत्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी र वडास्तरीय कृषि सञ्जालका अध्यक्ष बाबुराम ढकालले हस्ताक्षर गरे । कार्यक्रममा पोखरा–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, वडा सदस्य उमा परियार, पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरिया, परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेल, महासचिव जीवनराज सापकोटा, कार्यक्रम निर्देशक विष्णु तिमिल्सिना तथा होटल एण्ड रेष्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष सुरेश लामिछाने लगायतले उक्त कार्यक्रम सफल पार्न सहयोग गर्ने वचन दिए ।
कृषि क्षेत्रको प्रवद्र्धनसँगै पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले विगतका वर्षझैँ यस वर्ष पनि महोत्सवलाई निरन्तरता दिइएको उनले बताए । “पोखरा सबै मौसमका लागि” भन्ने मूल नारासहित आयोजना हुँदै आएको रोपाइँ महोत्सवले खेतीयोग्य जमिन संरक्षण, बाँझो जमिनमा खेती गर्न प्रोत्साहन तथा कृषिप्रति युवापुस्ताको आकर्षण बढाउन सहयोग पुग्ने विश्वास लिइएको परिषदले जनाएको छ ।
नेपाल कृषि प्रधान मुलुक भए पनि पछिल्लो समय खेतीयोग्य जमिन मासिने, खण्डीकरण हुने तथा कृषि पेशाबाट युवाहरू विमुख हुने प्रवृत्ति बढ्दै गएको छ । यस्तो अवस्थामा कृषि, पर्यटन र संस्कृतिलाई एकसाथ जोड्ने असारे रोपाइँ महोत्सवले ग्रामीण पर्यटन प्रवद्र्धनसँगै कृषि संरक्षण अभियानलाई थप बल पु¥याउने अपेक्षा गरिएको छ । गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिका प्रवद्र्धक रहेको महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।





