पोखराका होटल ९० प्रतिशत भरिभराउ, भारतीय पर्यटकको उल्लेख्य चहलपहल

-


     पोखरा क्लिक     
     जेठ ३० गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ३०, जेठ,

पोखरा, पछिल्लो दुई महिनायता पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ । विशेषगरी भारतीय पर्यटकको बढ्दो आगमन, आन्तरिक पर्यटन गतिविधिमा आएको वृद्धि तथा लगातार सार्वजनिक बिदाको प्रभावले पोखराका अधिकांश पर्यटकीय होटलहरू यतिबेला पनि भरिभराउ भएका छन् ।

पोखरा क्षेत्रमा रहेका पर्यटकीय स्तरका होटलहरूको अकुपेन्सी हाल करिब ९० प्रतिशत पुगेको पर्यटन व्यवसायीहरुले बताउनु हुन्छ । पोखरा क्षेत्रमा एकै रातमा करिब ४० हजार बेड क्षमता रहेको उल्लेख गर्दै होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले हाल उक्त सङख्याको ९० प्रतिशत बेड भारतीय, नेपाली तथा तेस्रो मुलुकका पर्यटकले भरिएको जनाउनु भयो । “हाल पोखराका अधिकांश पर्यटकीय होटलहरू भरिभराउ अवस्थामा छन्। भारतीय, आन्तरिक तथा विदेशी पर्यटकको चापका कारण होटल व्यवसायमा उत्साह थपिएको छ,” सुवेदीले भन्नुभयो । भारतमा परेको बिदाका कारण भारतीय पर्यटकहरू ठूलो सङ्ख्यामा पोखरा आउने गरेका छन्। गर्मी छल्नका साथै मुक्तिनाथ र पशुपतिनाथ मन्दिर दर्शन गर्ने उद्देश्यले भारतीय पर्यटक नेपाल आउने क्रम बढेको सुवेदीले दाबी गर्नुभयो । सुवेदीका अनुसार हाल दैनिक करिब एक हजार पाँच सय भारतीय सवारी साधन पोखरा भित्रिने गरेका छन्।

“सानोदेखि ठूला पर्यटकीय बस तथा निजी सवारी साधनमार्फत भारतीय पर्यटकहरू दैनिक रूपमा पोखरा भित्रिरहेका छन्। अहिले सबै प्रकारका भारतीय पर्यटकको आगमन भइरहेको छ,” उहाँले भन्नुभयो । पोखरामा हाल आगमन हुने पर्यटकमध्ये करिब ५० प्रतिशत भारतीय, ३० प्रतिशत आन्तरिक तथा २० प्रतिशत तेस्रो मुलुकका पर्यटक रहेको सुवेदीको भनाई छ । यता, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सरकारले लागू गरेको साताको दुई दिन सार्वजनिक बिदाको व्यवस्थाले आन्तरिक पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पारेको बताउनु भयो । उनका अनुसार पछिल्लो समय विशेषगरी भारतीय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ । “करिब दुई महिनादेखि पोखरामा भारतीय पर्यटकको आगमन उल्लेखनीय छ । सरकारले दिएको दुई दिनको बिदाले पनि आन्तरिक पर्यटकको संख्या बढाएको छ,” पहारीले भन्नुभयो । अधिकांश भारतीय पर्यटकको पोखरा बसाइ एकदेखि दुई दिनसम्म रहने गरेको उल्लेख गर्दै पहारीले कतिपय पर्यटक पोखराबाट मुक्तिनाथ पुगेर सोही दिन फर्किने गरेका जनाउनु भयो । मुस्ताङ क्षेत्रमा होटल तथा होमस्टेको संख्या सीमित भएकाले पर्यटकको अत्यधिक चाप हुँदा व्यवस्थापनमा चुनौती समेत देखिने गरेको पहारीले बताउनु भयो ।

पर्यटन व्यवसायीहरूका अनुसार मनसुन सुरु हुनुअघिको यो समय पोखराका लागि दोस्रो प्रमुख पर्यटकीय याम मानिन्छ । पदयात्रा, धार्मिक पर्यटन तथा गर्मीबाट राहत खोज्ने भारतीय पर्यटकका कारण पोखराको पर्यटन बजार यतिबेला चलायमान बनेको छ । पर्यटन क्षेत्रमा देखिएको यो उत्साहले व्यवसायीहरूलाई आशावादी बनाएको छ । पोखराका पर्यटकीय गन्तव्य फेवाताल, पुम्दीकोट बिशाल महादेवको मुर्ति, विश्व शान्ति स्तुपः, सराङकोट, विन्ध्यवासिनी मन्दिर, गुप्तेश्वर गुफा, डेभिडफल्स, महेन्द्र गुफा, चमेरे गुफा, भद्रकालि मन्दिर, काहुँडाँडा, घार्मी डाँडा, फोक्सिङ डाँडा लगायतको क्षेत्रमा पर्यटक चहल पहल रहेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले नीजि क्षेत्र र वोर्डको बिषेश पहलमा गर्मी मौसममा भारत केन्द्रित कार्यक्रम चलीय पोखरा, गर्र्मीसे वेहाल चलो नेपाल, गर्मी छल्न जाउ है पोखरा लगायतका नारा सहित गरिएको प्रमोशन टुर कारणले गर्दा पनि हाल पोखरामा भारतीय पयटक आगमनमा बृद्धि भएको बताउनु भयो । त्यसै गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ मन्दिरमा केही समय अघि दर्शन गर्नु भएको उहाँले पछिल्लो समयमा अमेरीका र इरानमा भएको युद्ध पछि अमेरीकी डलर खर्च कम कम गर्नु भनेसंगै दुबई, थाइल्याण्ड र यूरोज जाने भारतीय पर्यटक नेपालमा खुल्ला सिमाना भएको हुदा आफ्नै सवारी साधन लियर पनि आउनेहरुको भिडभाड भएको उहाँले बताउनु भयो । केही भारतका चर्चीत भ्लगरहरु पोखरा क्षेत्रमा आई बनाएका भिडियो सामाग्रिले पर्यटकहरुलाई आकर्षण गराएको उहाँले दाबी गर्नुभयो ।

टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले पोखरा र पोखरा देखि माथिल्लो मुस्ताङसम्म हाल होटलहरु पाउन मुस्किल परेको अबस्था भएको बताउनु भयो । भारतमा अत्याधिक गर्मी भएसंगै विदाको अवसरमा मुत्तिनाथ मन्दिर दर्शन गर्न आएकोले भारतीय पर्यटकको आगमन उत्साहजनक रहेको बताउनु भयो । हाल अफ्सिजनको मौसममा पर्यटकहरुको राम्रो आगमनले गर्दा आफुहरुलाई म्भाई नभ्याई भएको आचार्यले बताउनु भयो । केही भारतीय पर्यटकहरुले सडकमा यत्रतत्र सडकमा खाना पकाएको फोहोर गरेको बिषय उठान गर्नु भन्दा त्यसलाई व्यबस्थापनमा जोड दिन उनले आग्रह गरे ।