
पोखरा, ३० जेठ,
पोखरामा क्रियाशील साहित्यिक संस्था ¥यान्डम रिडर्स सोसाइटीले शनिबार अनुसन्धाता लोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल’ माथि विमर्श गरेको छ । पत्रकार युवराज श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा लेखक पराजुलीले विसं २००७ सालको परिवर्तन र त्यसले नेपाली समाजका विभिन्न आयाममा पारेको प्रभावबारे चर्चा गरे । उनले नेपालमा व्यवस्था परिवर्तन भए पनि शासकको प्रवृत्ति र स्वभावमा भने खासै परिवर्तन नआएको टिप्पणी गरे । सत्तामा पुगेपछि शासकहरुले आफूलाई सर्वज्ञानी ठान्ने र नागरिकलाई रैतीका रुपमा व्यवहार गर्ने गरेको उनको तर्क थियो ।

‘नेपालका शासकहरुमा आफ्नो विरोधीलाई शत्रु देख्ने र आफूले जे गरे पनि ठीक भन्ने अहम् देखिन्छ,’ पराजुलीले भने । राणाकालदेखि अहिलेसम्मका शासकहरुमा एउटै खालको अधिनायकवादी चरित्र रहेको उनले बताए । लोकतान्त्रिक मूल्य र मान्यताप्रति शासकहरुको प्रतिबद्धता कमजोर हुनु नै नेपालको मुख्य समस्या रहेको उनको विश्लेषण थियो । उनले वि.सं. २००४ सालको संविधान र त्यसपछिका राजनीतिक घटनाक्रममा पनि शासकहरुको अनुदार शैली नै हाबी भएको उल्लेख गरे । उनले नेपाली समाजको इतिहासलाई राजा र महाराजाको नजरबाट मात्र नभई भुइँमान्छे र प्रविधिको कोणबाट हेर्नुपर्नेमा जोड दिए ।
पराजुलीले आफ्नो अनुसन्धानका क्रममा नेपालको इतिहास खोज्न सिकागो र जर्मनीसम्म पुग्नुपरेको अनुभव साटे । ‘नेपालको गोर्खापत्रको पूरा आर्काइभ सिकागो विश्वविद्यालयमा सुरक्षित छ तर हाम्रो देशमा इतिहास जोगाउने चेत छैन,’ उनले भने । नेपालमा पुस्तकालयको महत्त्व नबुझिएकोमा उनले चिन्ता व्यक्त गरे । काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय भाडा तिर्न नसकेर बन्द भएको प्रसगमा उनले राज्यको कडा आलोचना गरे । पुस्तकालयले मानिसलाई सचेत बनाउने भएकाले शासकहरुले यसलाई आफ्नो सत्ताका लागि खतरा देख्ने गरेको उनले बताए ।
पुस्तकमा राजनीति, समाज, शिक्षा, रेडियो र सिनेमा गरी ५ वटा क्षेत्रमा भएका परिवर्तनलाई सूक्ष्म रुपमा केलाइएको छ । राणाकालमा रेडियो र सिनेमालाई कसरी सत्ताको प्रचारबाजीमा प्रयोग गरियो भन्ने विषय पुस्तकमा समेटिएको छ । सिनेमाले जनतामा चेतना भर्ने डरले राणाहरुले दरबारमा निजी हल बनाएर फिल्म हेर्ने तर नागरिकलाई भने टाढै राख्ने गरेको तथ्य उनले प्रस्तुत गरे । सिनेमाले नागरिकको मनोविज्ञान बिगार्छ भन्ने बहानामा राणाहरुले लामो समयसम्म हल खोल्न नदिएको उनले बताए ।
शिक्षा क्षेत्रमा पनि शासकले आफ्नो आदेश मान्ने कामदार उत्पादन गर्ने गरी मात्र लगानी गरेको उनले बताए । राज्यले नागरिकलाई सिर्जनशील बनाउनुभन्दा पनि नियन्त्रणमा राख्न खोजेको उनको ठम्याइ छ । उनले अनुसन्धानका क्रममा मदन पुरस्कार पुस्तकालयमा रहेको गोर्खापत्रको संकलनलाई सिकागो विश्वविद्यालयको सहयोगमा १ लाखभन्दा बढी पृष्ठको माइक्रोफिल्म बनाइएको जानकारी दिए । वि.सं. २००७ सालको परिवर्तन आधुनिक नेपालको इतिहासमा सबैभन्दा ठूलो प्रस्थान विन्दु भएको र यसले नेपालीलाई नागरिकका रुपमा स्थापित गरेको उनले बताए ।
कार्यक्रममा सुरेश रानाभाट, सिरोज, विजय कोइराला र विप्लवी न्यौपानेले लेखकसँग विभिन्न जिज्ञासा राखेका थिए । त्यसैगरी कौशलचन्द्र जिसी, भरत कोइराला, रोशन कोइराला र निखिलबाबु महतोले पुस्तकको विषयवस्तु र इतिहासका विभिन्न आयाममा सुझाव र प्रश्न गरेका थिए । ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष दीपक पराजुलीले पुस्तकमाथिको विमर्श र साहित्यिक गतिविधिलाई संस्थाले निरन्तरता दिँदै आएको बताए । सचिव ध्रुव केसीले लेखक र सहजकर्ताको परिचय गराएका थिए । संस्थाले प्रत्येक महिनाको अन्तिम शनिबार पुस्तक परिचर्चाका साथै विमर्श कार्यक्रम सञ्चालन गर्दै आएको छ ।





