
पोखरा,
पोखरा महानगरपालिकाले फिर्के खोलामा ढल सिधै फाल्ने काम रोक्न १० दिन भित्र आवश्यक सुरक्षा व्यवस्थाहरू पूरा गर्न आग्रह गरेको छ ।पोखरा महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै मापदण्ड बाहिरको जमिनमा सेफ्टी ट्याङ्की र सोफिट निर्माण नगरी ढल फाल्ने कार्य जारी रहे कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको हो ।
साथै, महानगरपालिकाले फिर्के खोलाको खोलाघर भित्र रहेका स्थायी तथा अस्थायी १६० संरचना हटाउने अभियान पनि जारी राखेको छ। वडा नं। १८ को अँधेरीकुनादेखि वडा नं। ६ गाईघाटसम्म फैलिएको खोलाघर सफाइ अभियानमा एक्साभेटर, जेसीबी र महानगरीय प्रहरी बल परिचालन गरिएको छ। बाँकी संरचनाहरू आफैं हटाउने प्रतिबद्धता जनाएका व्यक्तिहरूले तोकिएको समयमा सहयोग पुर्याउन महानगरपालिकाले अनुरोध गरेको छ । महानगरपालिकाले भवन तथा पूर्वाधार निर्माण मापदण्ड, २०८० अनुसार फिर्के खोलाको मापदण्ड १० मिटरबाट घटाएर ६ मिटर कायम गरिएको जानकारी दिँदै ६ मिटर भित्र कुनै पनि संरचना निर्माण नगर्न सबैमा आग्रह गरेको छ। फिर्के खोलाको कोरिडोर निर्माण परियोजना र यससँग सम्बन्धित थप विवरण छिट्टै सार्वजनिक गरिने महानगरपालिकाको प्रतिबद्धता छ । पोखरा महानगरपालिकाले यस अभियानमा सहयोग पुर्याउने सबै नागरिकप्रति आभार व्यक्त गरेको छ ।
त्यसै गरी पोखराको पृथ्बीचोक क्षेत्र जहाँ विभिन्न राजनीतिक दलका ट्रेड यूनियन तथा सामाजिक संघ संस्थाहरुको कार्यालय सहितका भवन भत्काएको स्थानमा अब फराकिलो सडक बनाउने अभियानमा रहेको पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताए । पोखरा बनाउने अभियानमा आफुहरु जुटेको बताउदै उहाँले यहाँको संरचना हटाउन अधिकांश संघ संस्थाले साथ र सहयोग गरेकोले जनताको हितमा काम हुने गरी भत्काइएको क्षेत्रमा सडक निर्माण हुने उहाँले जनाउनु भयो । पोखराका मेयर धनराज आचार्य नेतृत्वले अब पोखराको प्रमुख समस्याको रुपमा रहेको सुकुम्बासी बस्ती सहितको पोखरा बसपार्क क्षेत्रलाई कसरी व्यबस्थापन गर्नु हुन्छ हेर्न बाँकी रहेको छ । पछिल्लो क्रममा पोखरामा सार्वजनिक जग्गामा निर्माण भएका केही संरचना स्वत स्फुर्त भत्काउन सुरु भएको छ । सुकुम्बासीले विकल्प दियर मात्र हटाउन माग गर्दै आएका छन् ।





