
पोखरा,
केही दिनयता जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको नगर प्रहरीले पोखराको न्युरोड क्षेत्रमा एकतर्फी पार्किङ व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्दै नो–पार्किङ क्षेत्रमा राखिएका सवारी साधनहरू नियन्त्रणमा लिन थालेपछि स्थानीय व्यवसायीहरू आक्रोशित बनेका छन्।
हाल न्युरोडको सडकको पूर्वी भागमा मात्र पार्किङको व्यवस्था गरिएको छ भने पश्चिमी भागमा पार्किङ निषेध गरिएको छ । ट्राफिक व्यवस्थापन र सडकमा हुने जाम न्यूनीकरणका लागि लागू गरिएको यो व्यवस्थाले सडक सञ्चालनमा केही सहजता ल्याए पनि व्यापारिक गतिविधिमा नकारात्मक असर परेको व्यवसायीहरूको दाबी छ । व्यवसायीहरूका अनुसार पार्किङ एकातर्फ मात्र सीमित हुँदा ग्राहकहरूलाई सडक पार गरेर अर्को भागका पसलसम्म पुग्न कठिन भइरहेको छ । सडकबीचमा डिभाइडर भएकाले पैदल यात्रुले लामो दूरी घुमेर मात्र सडक पार गर्नुपर्ने अवस्था छ। यसले पार्किङ निषेध गरिएको क्षेत्रका पसलहरूमा ग्राहकको चहलपहल घटेको र व्यापार प्रभावित भएको उनीहरूको गुनासो छ ।
न्युरोड व्यवसायी समितिका सचिव दिल श्रेष्ठले सडक सुरक्षालाई प्राथमिकतामा राख्दै निश्चित स्थानहरूमा दुवैतर्फ व्यवस्थित पार्किङको व्यवस्था गर्नुपर्ने बताए। उनका अनुसार सन्तुलित पार्किङ व्यवस्थाले व्यवसाय प्रवर्द्धन, ग्राहकको सहज पहुँच तथा समग्र शहरी व्यवस्थापनमा सकारात्मक प्रभाव पार्नेछ । व्यवसायीहरूले न्युरोड क्षेत्रमा थप जेब्रा क्रसिङ, सुरक्षित पैदल मार्ग तथा आवश्यक स्थानमा व्यवस्थित पार्किङको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले सोमबार आफ्ना मागहरू उल्लेख गरिएका ब्यानरहरू पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ लगायतका विभिन्न स्थानमा राखेर ध्यानाकर्षणसमेत गराएका छन् । व्यवसायीहरूको भनाइमा ट्राफिक व्यवस्थापन आवश्यक भए पनि त्यसले स्थानीय व्यापारलाई असर नपर्ने गरी दीर्घकालीन र सन्तुलित समाधान खोजिनुपर्छ। न्युरोड क्षेत्र पोखराको प्रमुख व्यावसायिक केन्द्र भएकाले यहाँको पार्किङ व्यवस्थापनबारे सरोकारवाला निकाय र व्यवसायीबीच समन्वय गरेर उपयुक्त विकल्प तय गर्नुपर्ने आवाज उठ्न थालेको छ ।





