उन्नतिको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

-


     पोखरा क्लिक     
     जेठ १८ गते २०८३ मा प्रकाशित


पोखरा,१८ जेठ,

पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिकोत्सव अवसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहकारीको आफ्नै कार्यालय प्राङगणमा आयोजित कार्यक्रममा ५० युनिट रगत सकंलन भएको थियो ।

सहकारी सञ्चालक समितिका अध्यक्ष राजेश रानाभाटले पहिलो रक्तदाता रन्जित अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो । रक्तदाता मध्येमा सरु मगर सबैभन्दा कम उमेरको हुनुहुन्थ्यो । संस्थाले आफ्नो स्थापना दिवसका दिनमा हरेक वर्ष रक्तदान गर्दै आएको छ । “स्थापना दिवसमा हामी सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्ने गर्दछौँ, रक्तदानलाई आगामी दिनमा समेत निरन्तर गर्नेछौँ ।” अध्यक्ष रानाभाटले भन्नुभयो ।

संस्थाका कार्यालय प्रमुख भगवान भट्टराईले संस्थाले सहकारीको मुल्य, मान्यता अनुसार छरिएको पूँजी संकलन गर्ने र लगानी गर्दै आएको बताउनुभयो । रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको थियो ।