सुशासन, विकास, रोजगारी, आर्थिक समृद्धिमार्फत गणतन्त्रलाई थप सुदृढ र प्रभावकारी बनाउनुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड

-


     पोखरा क्लिक     
     जेठ १५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १५, जेठ,

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुशासन, विकास, रोजगारी, सामाजिक न्याय र आर्थिक समृद्धिमार्फत गणतन्त्रलाई थप सुदृढ र प्रभावकारी तथा जनमुखी बनाउनुपर्नेमा जोड दिनु भएको छ । गणतन्त्र दिवस २०८३ का अवसरमा प्रदेश सरकारले आज (शुक्रबार) पाखेरामा आयोजना गरेको समारोहमा वोल्दै मुख्यमन्त्री पाण्डेले नेपाललाई सबल, आत्मनिर्भर तथा समाजवादउन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अघि बढाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनु भयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रले नेपाली नागरिकलाई अधिकार, स्वतन्त्रता र समावेशी शासन व्यवस्थाको अनुभूति दिलाएको उल्लेख गर्दै उहाँले अब जनअपेक्षाअनुसार सुशासन र विकासलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयो । संघीय शासन व्यवस्थाको अभ्यासमा गण्डकी प्रदेश सरकारले विकास, नीति, पारदर्शिता र जनविश्वास सुदृढ गर्ने काम गरिरहेको दाबी गर्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो “नागरिकले देख्ने, सुन्ने र महसुस गर्ने गरी प्रदेश सरकारले आफूलाई स्थापित गर्दै आएको छ, प्रदेशको खर्च कटौंति कर्मचारी व्यबस्थापनको सुरुवात हामीले केही समय अघिबाटै सुरुवात गरेका थियौं ।” देशमा देखिएका समस्या समाधानका लागि नकारात्मकता भन्दा सकारात्मक सोच, आत्मविश्वास र सामूहिक प्रयत्न आवश्यक रहेको उहाँले जनाउनु भयोे । मुख्यमन्त्री पाण्डेले संविधानले व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ र पर्यावरणजस्ता मौलिक हकलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न गणतन्त्र दिवसले सबैमा नयाँ उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री पाण्डेले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा बेपत्ता, घाइते तथा अपाङ्गता भएका नागरिकहरूको योगदानको प्रंशम्सा गर्नुभयो ।

गण्डकी प्रदेश सरकारको आयोजनामा सम्पन्न गणतन्त्र दिवस कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण निकाय र सहभागीप्रति आभार व्यक्त गर्दै उहाँले गणतन्त्र दिवस २०८३ ले राष्ट्रिय एकता, सकारात्मक सोच र समृद्ध नेपाल निर्माणका लागि नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउनु नै गणतन्त्रको वास्तविक कार्यभार भएको उल्लेख गर्नुभयो । यसैबिच, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै जाँदा नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा हुँदै जाने बताउँनुभयो । १९ औँ गणतन्त्र दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानले निर्दिष्ट गरेअनुरुप समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य संचालनका पक्षमा दृढतापूर्वक उभिन जरुरी रहेको उल्लेख गर्नुभयो ।

जनताको संघर्षको माध्यमबाट जनताले विजय हाँसिल गरेको यो विशेष दिनमा जनआन्दोलन २०६२ र ६३ एवम् विभिन्न संघर्षहरुमा गौरवमय परिवर्तनका लागि प्राण उत्सर्ग गर्नुहुने सम्पूर्ण महान् सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण पनि गर्नुभयो । गणतन्त्र दिवसले सबै नेपालीहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।