
दीननाथ बराल,
पोखरा, १५ जेठ,
सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटमार्फत गण्डकी प्रदेशलाई धार्मिक पर्यटन, खेलकुद, सडक पूर्वाधार र अन्तर्राष्ट्रिय हवाई सेवाको केन्द्रका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज (शुक्रबार) संघीय संसदमा बजेट प्रस्तुत गर्दै पोखरा र गण्डकी केन्द्रित बहुआयामिक योजनाहरू घोषणा गर्नुभएको हो ।
बजेटमा “गण्डकी चतुरभुज” अवधारणालाई प्राथमिकतामा राख्दै लुम्बिनी, चितवन, कोरला नाका र त्रिवेणीधामलाई जोड्ने धार्मिक, पर्यटन तथा व्यापारिक सञ्जाल विस्तार गरिने उल्लेख गरिएको छ । सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको द्रुतमार्गका रूपमा विकास गर्दै सिद्धबाबा सुरुङमार्ग आगामी वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ । पोखरा–काठमाडौं सडक तथा सिद्धार्थ राजमार्ग स्तरोन्नतिलाई विशेष प्राथमिकता दिइएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म चार लेन सडक निर्माण शीघ्र सम्पन्न गरिने भएको छ भने नागढुंगा–मुग्लिङ सडकखण्डको ४० किलोमिटर सडक स्तरोन्नति गरिनेछ । नागढुंगा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याइने घोषणा गरिएको छ । यी योजनाका लागि सरकारले ६ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।
धार्मिक तथा सांस्कृतिक पर्यटनलाई जोड दिँदै सरकारले लुम्बिनीदेखि मुक्तिनाथसम्म “निर्वाण पथ” विकास गर्ने घोषणा गरेको छ । मुक्तिनाथ, कागबेनी, दामोदरकुण्ड, देवघाट, रिडी र त्रिवेणीधामलाई समेटेर “शालिग्राम पथ” निर्माण गरिने भएको छ । मनाङ, मुस्ताङ र म्याग्दीका हिमाली क्षेत्रलाई ध्यान, योग, साधना तथा आरोग्य पर्यटनसँग जोडेर विकास गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गरिने सरकारले जनाएको छ । रारातालदेखि मुक्तिनाथसम्म जोड्ने पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्ने योजना पनि बजेटमा समेटिएको श्रोतले पोखराक्लिकलाई जनाएको छ ।
खेलकुद पूर्वाधार विकासमा पनि गण्डकी प्रदेशले विशेष प्राथमिकता पाएको छ । पोखरासहित प्रमुख शहरमा दुई हजार दर्शक क्षमताका मल्टिपर्पोज इन्डोर हल निर्माण गरिनेछ । आगामी तीन वर्षभित्र देशका १० स्थानमा फ्लडलाइटसहित आठ हजार क्षमताका फुटबल रंगशाला निर्माण गरिने भएको छ भने पोखरासहित आठ प्रमुख शहरमा आधुनिक क्रिकेट रंगशाला बनाइने योजना अघि सारिएको छ । यस्तै गण्डकी प्रदेशका मध्यपहाडी क्षेत्रमा साइकल ट्रेल निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ । कास्कीको लिपेनी–थुम्सीकोट–भाचोक हुँदै करापुसम्म तथा तनहुँको व्यास–बन्दीपुर–देवघाट क्षेत्र जोड्ने साइकल रुट परीक्षणका रूपमा निर्माण गरिने भएको छ । सरकारले कालीगण्डकी करिडोरअन्तर्गत २१ किलोमिटर सडक कालोपत्रे गर्ने योजना पनि अघि सारेको छ । कोरला नाकासम्मको पहुँच विस्तार गरी गण्डकी प्रदेशलाई उत्तर–दक्षिण व्यापार र पर्यटनको प्रमुख केन्द्र बनाउने लक्ष्य बजेटले लिएको छ । यस वर्षको बजेटले पोखरा र गण्डकी प्रदेशलाई धार्मिक पर्यटन, साहसिक पर्यटन, खेलकुद पूर्वाधार, अन्तर्राष्ट्रिय हवाई सेवा तथा आधुनिक सडक सञ्जालमार्फत राष्ट्रिय आर्थिक केन्द्रका रूपमा विकास गर्ने स्पष्ट संकेत गरेको छ ।





