
पोखरा,
ड्यामसाइड क्लबको आयोजनामा पोखरामा पाँचौं संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता–२०८२ जारी छ । ड्यामसाइडस्थित गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन ४ खेल सम्पन्न भए ।
बुधबारको खेलमा ढुंगेसाँघु बोर्डिङले ड्रिम एकेडेमीलाई ३–० गोलअन्तरले पराजित गरेको छ । खेलमा ढुंगेसाँघुका सुमित नेपाली म्याच अफ दि म्याच घोषित भए । यसैगरी, जानकी र एक्स आर्मीबीच प्रतिस्पर्धामा जानकी ३–० गोलअन्तरले विजयी भयो । जानकीका अभिषेक मल्ल म्याच अफ दि म्याच बने । अर्को खेलमा, स्पाइरल ग्लालेक्सीले फिस्टेल एकेडेमीको चुनौती १–० गोलअन्तरले पन्छायो । स्पाइरलका विपिन केसी म्याद अफ दि म्याच घोषित भएको म्याच कमिस्नर गोपाल थापाले बताए । पोखरा किन्डरगार्डेनलाई ३–२ गोलअन्तरले हराउँदै हिमालयन बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ । म्यान अफ दि म्याच रितेश आले मगर (हिमालयन बोर्डिङ) बने ।
ग्रासरुटबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिता पोखरा महानगरपालिका वडा कार्यालय १७ ले प्रवद्र्धन गरेको हो । बुधबारको उक्त प्रतियोगिताको उद्घाटन पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगीले गरेकी हुन् । सो अवसरमा क्लबलाई खेलकुद तथा सामाजिक कार्यमा सहयोग गरेकामा शान्ति निकेतन स्कुल, बिरौटालाई सम्मान गरिएको थियो । उक्त सम्मान विद्यालय प्राचार्य डा. नरेन थापाले ग्रहण गरे । कार्यक्रममा पोखरा–१७ का वडा सदस्य एवं खेल संयोजक विक्रम गुरुङ, आयोजक क्लबका संस्थापक सदस्य इन्जिनियर प्रकाश गुरुङ, प्रतियोगिता संयोजक विकास रानाभाट लगायतले बोलेका थिए । सोही अवसरमा एन्फा कास्कीले फुटबल सहयोग गरेको थियो । उक्त सहयोग एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जितले फुटवल हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा टोल विकास, आमा समूह एवं क्लबका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति थियो । मंगलबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वडा १७ को समग्र खेलकुद कार्यक्रमको उद्घाटन गरेका थिए । आयोजक ड्यामसाइड क्लब अध्यक्ष रमेशप्रसाद बरालले विद्यालयस्तरबाटै प्रतिभावान खेलाडी उत्पादन गर्दै पोखराको फुटबल संस्कृतिमा टेवा दिन विगतमा झैं प्रतियोगितालाई निरन्तरता दिएको बताए ।
फुटबल प्रतियोगितामा वडा १७ का सामुदायिक तथा निजी गरी १९ विद्यालयले भाग लिएका छन् । विजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २० हजार तथा तेस्रो हुने टिमले १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सान्त्वनाले ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक तथा उत्कृष्ट प्रशिक्षकलाई विशेष पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक विकास रानाभाटले बताए । प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ द म्याच’ ट्रफी प्रदान गरिएको छ । क्लब महासचिव राकेश श्रेष्ठले प्रतियोगिता सञ्चालनमा करिब ६ लाख ५ हजार खर्च हुने अनुमान रहेको बताए । गत वर्ष हिमालयन बोर्डिङ स्कुल च्याम्पियन बनेको थियो ।




