लमजुङको पुरानकोटमा त्रिदिवशीय घरवास व्यवस्थापन तालिम

-


     पोखरा क्लिक     
     जेठ १० गते २०८३ मा प्रकाशित


पोखरा, १० जेठ,

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना एवम् गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेश समितिको सह–आयोजनामा लमजुङको बेसीशहर नगरपालिका–४ पुरानकोटमा त्रिदिवशीय घरवास(होमस्टे) व्यवस्थापन तालिम सम्पन्न भएको छ । पुरानकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिको स्थानीय समन्वयमा आयोजित तालिममा ४० जनाको सहभागी रहेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुुभयो ।

तालिममार्फत होमस्टे सञ्चालन, पाहुना सत्कार, सरसफाइ, व्यवस्थापन, स्थानीय संस्कृतिको संरक्षण तथा पर्यटन सेवाको गुणस्तर अभिवृद्धिबारे व्यावहारिक ज्ञान प्रदान गरिएको उहाँले बताउनुुभयो । तालिममा भिटोफ गण्डकीका सल्लाहकारहरू टिकाराम सापकोटा, डा. रामजी शर्मा तथा दीपेन्द्र पहारीले होमस्टे व्यवस्थापनका विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो । त्यस्तै रुकु थापाले हाउसकिपिङ सम्बन्धी तथा सजिना गुरुङले सांस्कृतिक नृत्य सम्बन्धी कक्षा सञ्चालन गर्नुभएको थियो ।

तालिममा सहभागी होमस्टे सञ्चालकहरूले यस्ता व्यावहारिक तथा क्षमता अभिवृद्धि कार्यक्रमले सेवा गुणस्तर सुधार गर्न, पर्यटकलाई आकर्षित गर्न तथा स्थानीय आयआर्जन बढाउन महत्वपूर्ण योगदान पुग्ने बताउँदै तालिमबाट आँफूहरू घरवास सञ्चालनका विविध पक्ष बारे जानकारी पाएर लाभान्वित बनेको बताए । तालिममा पुरानकोट, नाल्मा, तुर्लुङकोट, काउलेपानी तथा नरुवाल मगर होमस्टेका सञ्चालकहरूको सहभागिता थियो । ग्रामीण पर्यटन प्रवद्र्धन, स्थानीय संस्कृतिको संरक्षण तथा समुदायमा रोजगारी सिर्जना गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।

तालिमको आज आयोजित समापन समारोहमा सहभागीलाई भिटोफ गण्डकीका अध्यक्ष एवम् कार्यक्रमका सभापति शोभा सापकोटा सहित सल्लाहकारहरूले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । समापन समारोहमा वक्ताहरूले ग्रामीण पर्यटन विकास, स्थानीय उत्पादनको प्रवद्र्धन तथा समुदायको आर्थिक सशक्तीकरणमा होमस्टे महत्वपूर्ण माध्यम बन्न सक्नेमा जोड दिएका थिए । यस अघि तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल ले होमस्टेमार्फत गाउँको समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

गण्डकी प्रदेशमा सञ्चालनमा रहेका होमस्टेहरूको स्तरीकरण गर्ने तयारी भइरहेको जानकारी दिँदै उहाँले चालु आर्थिक वर्षभित्रै होमस्टे स्तरीकरण सम्पन्न गरी स्तरीकरण भएका होमस्टेलाई वेबसाइटमार्फत विश्वभर प्रचार–प्रसार गर्ने योजना रहेको उहाँले जानकारी गराउनुुभयो ।
होमस्टेलाई कृषि पर्यटनसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै गाउँघरमा उत्पादन हुने ताजा तथा अर्गानिक खानाले पर्यटक आकर्षित गर्ने बताउँदै उहाँले स्थानीय संस्कृति, परम्परा, खानपान र प्राकृतिक जीवनशैलीलाई पर्यटनसँग जोड्न सके ग्रामीण अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताउनुुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले गण्डकी प्रदेशमा ग्रामीण पर्यटनको सम्भावना अत्यन्त उच्च रहेको बताउँदै होमस्टे पर्यटनले गाउँको मौलिकता जोगाउँदै स्थानीयको आयआर्जन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुुभयो । तालिममार्फत सहभागीहरूले सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै उहाँले सेवा गुणस्तर सुधार गर्न सके पुरानकोट क्षेत्र उत्कृष्ट ग्रामीण पर्यटन गन्तव्यको रूपमा स्थापित हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । बेसीशहर नगरपालिकाकी उपप्रमुख पद्मा गुरुङ, बेसीशहर नगरपालिका–४ का वडा अध्यक्ष गमबहादुर गुरुङ, भिटोफ गण्डकीका पूर्व अध्यक्ष रविन्द्र पौडेल तथा पुरानकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कन्याकाशी गुरुङ लगायतले होमस्टेको महत्व, ग्रामीण पर्यटन विकास तथा स्थानीय समुदायको भूमिकाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।