सरकारी जग्गामा निर्माण भएको डेढ करोडको भवन अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण ग¥यो

-


     पोखरा क्लिक     
     जेठ ९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ९, जेठ,

सार्वजनिक तथा सरकारी जग्गा संरक्षण अभियानलाई साथ दिँदै अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले पोखरा–९ पृथ्वीचोकस्थित सरकारी जग्गामा निर्माण भएकोे पक्की भवन पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले सरकारी तथा सार्वजनिक जग्गा खाली गर्न जारी गरेको ३५ दिने सूचनापछि महासंघले आफूले प्रयोग गर्दै आएको करिब ४ रोपनी क्षेत्रफल सहितको भवन खाली गर्दै आज (शनिबार) एक समारोहका बिच भवनको साँचो हस्तान्तरण गरेको हो ।

२०६७ सालमा करिब १ करोड ५३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवन महासंघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र गौतमले पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत रहेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई हस्तान्तरण गर्नु भएको हो । भवन हस्तान्तरण कार्यक्रममा नगर प्रमुख आचार्यले संवाद, सहमति र आपसी विश्वासका आधारमा सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण सम्भव रहेको उदाहरण महासंघले प्रस्तुत गरेको बताउनु भयो । उहाँले बल प्रयोग बिना नै सरकारी जग्गा संरक्षण अभियान सफल बनाउन महासंघले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अन्य मजदुर संघ संगठन सहितका सामाजिक संघ संस्था तथा व्यक्तिहरुलाई यस्तै अभियानमा जुट्न आव्हान गर्नुभयो ।

महासंघ गण्डकी प्रदेशका अध्यक्ष गौतमले महानगरपालिकाले अघि बढाएको सार्वजनिक जग्गा संरक्षण अभियानलाई सहयोग गर्न आफूहरूले भवनसहितका संरचना खाली गरेको बताउनु भयो । महासंघले प्रयोग गर्दै आएको अस्थायी टहरा तथा सभाहल समेत एक दिन अघि शुक्रबार डोजर प्रयोग गरेर भत्काएको थियो । अन्य संघसंस्थाले पनि सरकारी जग्गामा निर्माण गरिएका संरचना स्वेच्छाले हटाउनुपर्ने बताउँदै अटेर गरे कार्वाही हुने मेयर आचार्यले चेतावन दिनुभयो । महासंघले प्रयोग गर्दै आएको उक्त क्षेत्रमा विभिन्न ट्रेड युनियन, संघसंस्था तथा सामुदायिक भवनहरू रहेका छन् । एमाले निकट जिफण्ट, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस, सामुदायिक प्रहरी सेवा पृथ्वीचोक, हिमाली सांस्कृतिक परिवार, सहारा क्लब लगायतका संस्थाका भवन तथा संरचना पनि सोही क्षेत्रमा रहेका छन् ।

यसैबीच, पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर अतिक्रमण गरी निर्माण गरिएका करिब १६० संरचना जेठ ९ गतेभित्र हटाउन अल्टिमेटम दिएको छ । वडा नम्बर १८ अँधेरीकुनादेखि वडा नम्बर ६ गाईघाटसम्म फैलिएको क्षेत्रमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन महानगरले सूचना जारी गरेको हो । महानगरले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई आवश्यक कागजातसहित विवरण पेश गर्न समेत आग्रह गरेको छ । समयसीमाभित्र संरचना नहटाए महानगर आफैंले डोजर लगाएर हटाउने र त्यसको खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी दिएको छ । पोखरा बसपार्कका अव्यबस्थित बसोबासी तथा सुकुम्बासीहरुले शुक्रबार पोखरा ९ वडा कार्यालयमा निस्सा वितरण गर्नु भएको छ । यसैबिच, पोखरा बसपार्क क्षेत्रभित्र जग्गाधनी प्रमाणपत्र भएका व्यक्तिहरूले तोकिएका कागजात पेश गर्ने तथा सटर कवल १५ दिनभित्र हटाउने सम्बन्धी पोखरा उपत्यका नगर विकास समितिले प्ुनः सूचना जारी गरेको छ ।