
दीननाथ बराल,
पोखरा, ९ जेठ,
खेलकुदको शहरका रूपमा परिचित पोखरामा विद्यालय तहको फुटबल खेलको विकास गर्ने उद्धेश्यले पाँचौं संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ यही जेठ १२ गतेदेखि आयोजना हुने भएको छ । पोखराको ड्यामसाइड क्लबको आयोजनामा यही जेठ १२ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा हुने भएको क्लवले जनाएको छ ।

क्लवले शनिबार पोखरामा आयोजना गरेको टाईसिट प्रकाशन तथा पत्रकार सम्मेलनमा जानकारी दिँदै क्लबका अध्यक्ष रमेश प्रसाद बरालले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्दै फुटबलको ग्रासरुट विकासमा योगदान पु¥याउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिएको बताउनु भयो । प्रतियोगितामा वडा नम्बर १७ भित्र रहेका १९ वटा सामुदायिक तथा निजी विद्यालयको सहभागिता रहने भएको छ ।
छ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १० हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका संयोजक विकास रानाभाटका अनुसार प्रतियोगिताभर प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई ट्रफी प्रदान गरिनेछ । साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई पनि विभिन्न विधामा पुरस्कृत गरिने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ का खेलकुद संयोजक तथा वडा सदस्य विक्रम गुरुङले वडामा यही जेठ १२ गतेदेखि एक साता विभिन्न खेलकुद फुटवल सहित व्यडमिन्टन, सडक दौड, बुद्धिचाल प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता आयोजना हुने भएको बताउनु भयो ।

“सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई विशेष ट्रफी प्रदान गरिनेछ,” संयोजक रानाभाटले भन्नुभयो । गत वर्ष सम्पन्न चौथो संस्करणको प्रतियोगिताको उपाधि हिमालयन बोर्डिङ स्कुलले जितेको थियो । क्लबका पूर्व अध्यक्ष पदम ढकालले ड्यामसाइड क्लबले २०५९ सालदेखि खेलकुद, पर्यटन तथा सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउनुभयो । क्लबले आफ्नो प्रयासबाट राष्ट्रिय स्तरसम्म पुग्न सफल खेलाडी उत्पादन गरेको दाबी समेत गरेको छ । राजेन्द्र तामाङ, रवि थापा, प्रताप शैजु, बसन्त गौचन, विशन गौचनलगायतका खेलाडीहरू यही क्लबबाट अघि बढ्दै ए डिभिजनसम्म पुग्न सफल भएका छन् । हाल विभिन्न स्तरमा खेलिरहेका करिब २४ जना खेलाडी उत्पादन गर्न क्लब सफल भएको दाबी गरिएको छ । महासचिव राकेश श्रेष्ठले प्रतियोगिता सञ्चालनका लागि करिब ६ लाख ५ हजार २ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव परशुराम शर्मा, टाइसिट प्रशासन क्लबका पूर्व अध्यक्ष राजु गुरुङ, सल्लाहकार विनोद परियार, गोपाल थापा लगायतको उपस्थिति रहेको थियो ।




